स्थापना दिवसमा रक्तदान

सुर्खेत: वीरेन्द्रनगर–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले २२औँ स्थापना दिवस मनाएको छ । सोमवार बृहत् रक्तदान कार्यक्रमसहित दिवस मनाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा भैरवस्थाको समन्वयमा रक्तदान आयोजना गरिएको हो । जसमा संस्थाका सञ्चालक, उपसिमित, कर्मचारी, शेयर सदस्यसहितको सहभागिता रहेको थियो । सहकारी २२औँ वर्ष प्रवेश गरेको अवसरमा २२ जना व्यक्तिद्वारा नै रक्तदान गरिएको संस्थाका सचिव गणेशमान खनालले जानकारी दिए ।

यसैगरी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा नीति कार्यक्रमअनुसार सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको समन्वयमा सञ्चालित सदस्यको म्यादी जीवन बिमासमेत प्रदान गरिएको छ । मृत्यु भएका चार जना सदस्यका परिवारका हकवालालाई बिमा रकम हस्तान्तरण गरिएको हो ।

संस्थाको हाल कूल वासलात २१ करोड ६१ लाख १४ हजार ६ सय ९० रहेको छ भने कूल बचत १६ करोड सात लाख ७२ हजार पुगेको छ । दुई हजार आठ सय ५५ जना शेयर सदस्य तथा सात सय ७९ जना बाल बचतकर्ता रहेको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिए । कार्यक्रम संस्थाका अध्यक्ष बलबहादुर सार्कीको अध्यक्षाता भएको हो ।

प्रकाशित मितिः   ५ असार २०८१, मंगलवार १०:१५