प्रतिकार्य योजना

मनसुन नजिकिए पनि यस वर्षका लागि कर्णाली प्रदेशको मनसुनजन्य विपत् प्रतिकार्य योजना बन्न सकेको छैन । विपद्पूर्व आवश्यक तयारी तथा विपद्का बेला खोज उद्धार गर्न र विपद्पछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपद् प्रतिकार्य योजना बनाउने गरिएको छ । मनसुन लाग्न अब एक साताभन्दा कम समय बाँकी रहँदासम्म अझै विपद् प्रतिकार्य योजना तयार भइनसकेको प्रदेश सरकारले जनाएको छ । विपद् प्रतिकार्य योजना निर्माणकै चरणमा रहेको जनाइएको छ । विभिन्न मन्त्रालयले बेलैमा विपद्सम्बन्धी तथ्यांक उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ अनुसार कर्णाली प्रदेशमा मनसुनजन्य विपद्बाट ११ हजार घरपरिवार प्रभावित हुनेछन् । त्यसबाट ५० हजार चार सय ६४ जना मानिस प्रभावित हुने अनुमान गरिएको छ । बाढीबाट सबैभन्दा बढी सुर्खेत प्रभावित हुनेछ । २१ हजार नौ सय एक जना मानिस प्रभावित हुने अनुमान छ । सुर्खेत बाढीबाट प्रभावित हुनेछ भने अन्य जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोबाट सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित हुने अनुमान छ । सल्यान जिल्लामा ६ हजार आठ सय २८ जना मानिस प्रभावित हुने आंकलन छ । क्रमशः रुकुमपश्चिममा ६ हजार एक सय, दैलेख ६ हजार ६ सय, जाजरकोटमा चार हजार पाँच सय १३ र जुम्ला जिल्लामा दुई हजार एघार घरपरिवार विस्थापित हुने प्रक्षेपण गरिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला बाढी तथा अन्य नौ जिल्ला पहिरोका कारण सर्वसाधारण विस्थापित हुने गरेका छन् । एकातिर विपद् प्रतिकार्यका लागि प्रभावकारी योजना बनाइएको छैन भने, अर्कोतर्फ विपद्बाट प्रभावित नागरिकको पुनस्र्थापना समेत हुन सकेको छैन । २०७१ सालको बाढीबाट विस्थापितको पूर्णरूपमा व्यवस्थापन हुन सकेको छैन । बाढीपीडितहरू अहिले पनि विभिन्न स्थानका अस्थायी शिविरमै छन् । जाजरकोट भूकम्पबाट प्रभावितहरू पनि पुनस्र्थापनाको पखाईमा छन् ।

कमजोर भू–बनोट, छरिएर रहेका बस्तीहरूका कारण कर्णाली विपद्को जोखिममा रहेको छ । वातावरणीय प्रभाव अध्ययनविना हुने विकास निर्माणका काम, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनका कारण प्राकृतिक प्रकोपका घटना बढिरहेका छन् । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली । कर्णालीका पहाडी र हिमाली गरी नौ जिल्ला पहिरो र भित्री मधेशको सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने प्रदेश सरकारको अनुमान छ । विपद्को जोखिमबाट जोगिन सतर्कता, पूर्वतयारी र प्रतिकार्यको योजना अपरिहार्य हुन्छ ।

प्रकाशित मितिः   २७ जेष्ठ २०८१, आईतवार ०५:०३