सुर्खेतमा श्रमाधान मेला: रोजगारी पाउने आशामा युवा

सुर्खेत: शुक्रवार दिउँसो करिब १ बजे दैलेखको नौमुले गाउँपालिकाका यज्ञ थापा वीरेन्द्रनगरमा सञ्चालन भइरहेको श्रमाधान रोजगार मेलामा भेटिए । हुन त उनी वैदेशिक रोजगारीको सिलसिलामा विगत एक दशकदेखि मलेसिया जाने–आउने गरेका छन् । ठूलो सवारी चालकका रूपमा मलेसियामा मासिक एक लाख ३० हजार रूपैयाँ कमाउँदै आएका थापाको अब भने परिवारसँग स्वदेशमै बस्ने इच्छा छ । उनी भन्छन्, ‘मैले विदेशमा जस्तो कमाइ नेपालमा खोजेको छैन, परिवारको साथैमा बसेर मासिक ४०÷५० हजार कमाइ हुने जागिर पाइयो भने अब विदेश जान्नँ, जागिर पाइन्छ कि भनेर रोजगार मेलामा आएको हुँ ।’

थापाजस्तै मेला अवलोकन गर्न आएका अर्का युवा लक्षिराम विक पनि २५÷३० हजारको जागिर पाए गर्ने आशले मेलामा आएका छन् । उनले भने, ‘शिक्षा विषय लिएर स्नातक दोस्रो वर्षमा अध्ययनरत छु । कम्प्यूटरको डेटा म्यानेजमेन्टसम्बन्धी केही तालिम पनि लिएको छु । धेरै ठाउँमा फाराम भरेको छु त्यसैले मेलापछि कहीँ न कहीँ जागिर पाइने आश लागेको छ ।’

यसैगरी वीरेन्द्रनगर नगरपालिका–६ की विपना रेग्मी पनि रोजगारीका लागि मेलामा आएकी थिइन् । उनीसँग कम्प्यूटरसम्बन्धी ज्ञान छ । जागिरका लागि विभिन्न ठाउँमा पुगेको भएपनि कुनैपनि ठाउँमा काम गर्ने अवसर नपाएको बताइन् । उनले राम्रो काम पाइन्छ कि भनेर मेला अवलोकनका लागि आएको जनाइन् । ‘धेरै ठाउँमा फाराम भरेको छु काम पाइन्छ कि भन्ने धेरै आश गरेको छु,’ रेग्मीले भनिन् ।

शान्ति विसीले राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईलीमा कृषि भेटेनरी पढिरहेकी छिन् । उनले सी.एल.ई तालिमको लागि मेलामा आवेदन दिएको बताइन् । सीप सिकेर काम गर्न सजिलो हुनेभएकाले तालिममा सहभागिता जनाउन लागेको उनले सुनाइन् ।

मेलामा भेटिएकी सविना कार्कीले रोजगारीका लागि आवेदन दिएको बताइन् । अन्य ठाउँमा रोजगारी गर्न जाँदा अनुभव मात्रै माग्ने गरेको उनले सुनाइन् । ‘काम खोज्न जाँदा अनुभव चाहिन्छ । काम नपाइकन कसरी केको अनुभव दिनु ?’ उनले प्रतिप्रश्न गरिन् । रोजगार मेलामा अनुभवविना सानोतिनो जागिर पाइन्छ कि भन्ने आशा उनको रहेको छ ।

कर्णाली प्रदेशमा शान्ति, सविना, यज्ञजस्ता हजारौ युवाहरूले रोजगारीको आशमा रोजगार मेलामा आवेदन दिइरहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रवारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । दुई दिने मेला अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकको रूपमा चेम्बर अफ कमर्श कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् । शुक्रवारदेखि शनिवारसम्म मेला सञ्चालन हुनेछ ।

मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका हुन् । मन्त्री अर्यालले कर्णालीमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र कर्णालीबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको बताएका छन् । ‘यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महŒवपूर्ण भूमिका खेल्नेछ’, उनले भने ।

मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अघि सारेको समेत जानकारी दिए । धेरैभन्दा धेरै युवालाई आफ्ना उद्योगमा रोजगारी दिन कर्णालीका उद्योगीहरूलाई आग्रह गरेका छन् । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलन सरकारले गरिरहेको मन्त्री अर्यालले जानकारी दिए ।

 

मेलामा ४० वटा स्टल

श्रमाधान रोजगार मेला शनिवारसम्म चल्नेछ । मेलाले रोजगारदाता र रोजगार खोज्नेबिच जमघट गराउने, रोजगारीको अवसर सिर्जना गर्ने, सिप विकास प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डका उपसचिव टीकाराम ढकालले बताए ।

रोजगार मेलामा ४० वटा स्टल राखिएको छ । आठ वटा स्टल सरकारी र ३२ वटा स्टल निजी क्षेत्रका रहेका छन् । मेलामा श्रम तथा वैदेशिक रोजगारलगायतका बारेमा प्यानल छलफल र विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । कर्णालीमा ठूला उद्योग कलकारखाना नभएकाले अन्य प्रदेशको तुलनामा धेरै रोजगारीको अवसर सिर्जना नभए पनि कर्णालीको आवश्यकतालाई पूरा गर्ने खालको जमघट यो रोजगार मेला बन्ने दाबी गरिएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८१, शनिबार ०९:४८