नीति तथा कार्यक्रममाथि छलफल

सुर्खेत:  कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा छलफल भइरहेको छ । आगामी आवको वार्षिक नीति तथा कार्यक्रममाथि शुक्रवारबाट छलफल सुरु गरिएको हो ।
छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । प्रदेशसभा सदस्य हिक्मत विष्टले नीति तथा कार्यक्रमले नागरिकका समस्यालाई पहिचान गर्न नसकेको भन्दै स्पष्ट दिशानिर्देश गर्न नसकेको जनाए ।

अर्का सदस्य कल्याणी खड्काले विगतमा पनि राम्रा र प्रभावकारी कार्यक्रम आएको भएपनि त्यसको कार्यान्वयन नहुँदा जनताको जीवनस्तर सुधार नभएको भन्दै कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताइन् । सांसद विन्दमान विष्टले नीति तथा कार्यक्रम पुरानै विषयमा आएकाले धेरै छलफल गर्न जरुरी नभएको बताए । सरकारको नीति तथा कार्यक्रम उच्च आकांक्षासहित मुलुकको समृद्धिका आधार तयार गरिएको भएपनि काम गर्ने संस्कृतिको ह्रास भएको भन्दै माथिल्लो तहबाट रूपान्तरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरू तुल्सा मल्ल, पुर्णबहादुर खत्री, जीतबहादुर मल्ललगायतले बोलेका थिए । प्रदेश सभाको अर्को बैठक शनिवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८१, शनिबार ०९:४६