कुडा कर्णालीका

अपाङ्गताः पहुँच र पौरख

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन ‘अपाङ्गताः पहुँच र पौरख’ सत्रको आयोजना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको पहुँच स्थापना गर्नुका साथै उनीहरुको पौरखको कदर गर्न नीतिगत व्यवस्था गर्न आवश्यक सुझाव दिन छलफलले सहयोग गर्ने अपेक्षा गरिएको थियो । छलफलमा कर्णाली प्रदेश सभाका सदस्य दुर्गबहादुर रावत (शारीरिक अपाङ्गता भएको), अभियन्ताहरु छिटुप दोर्जी लामा (दृष्टिविहीन) र नम्रता भारती (सुनाईसम्बन्धी अपाङ्गता भएको) ले भाग लिएका थिए । पत्रकार एवम् अभियन्ता गजेन्द्र बुढाथोकी (शारीरिक अपाङ्गता भएको) ले सत्रको सहजीकरण गरेका थिए ।


 

मान्छेको जीवन अचम्मको हुँदो रहेछ । हामीले सुरुमा आफैलाई चिन्नु पर्दोरहेछ । मैले विद्यालयमा पढ्दा ब्रेल लिपीका पाठ्यपुस्तक थिएनन् । आँखा नदेख्ने भएकाले किताबका अक्षर र चित्र देख्न पनि सकिन । शिक्षकले पढाएका पाठ सुनेकै भरमा एसईई दिएको थिएँ । त्यसपछि केही वर्ष मेरो पढाइ रोकियो । किनभने आँखा नदेख्ने व्यक्तिले गाउँबाट सहर पुगेर पढ्ने सपना देख्नै सकेन । त्यो असम्भव जस्तै लाग्थ्यो । यद्यपि, मैले दुई÷तीन वर्ष पछि पुनः पढ्ने अवसर पाएँ ।

पढाइकै कारण मैले आफूलाई चिन्ने मौका पाएँ । आफूभित्रका अथाहा सम्भावनाहरू खोतल्न सकें । यही क्रममा मैले त्रिभुवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरें । जर्ज युनिभर्सिटीबाट लर्निङ अवार्ड लिएको छु । कम्युनिटी सोलुसन फेलोशिप अन्तर्गत विभिन्न लिडरशिप कोर्सहरु गरें । अहिले म त्यस्ता तालिमहरू दिन्छु । मलाई यो ऊर्जा मेरो भोगाइले नै दिएको हो । मैले विद्यालय शिक्षा लिन जति संघर्ष गरें, समाजमा घुलमिल हुन जति दुःख गरें, त्यही नै मेरो ऊर्जा हो । त्यही उर्जाका कारण मैले कर्णाली प्रदेशको हुम्लामै बसेर काम गर्ने निर्णय लिएको हुँ ।

अपाङ्गता भएका व्यक्तिलाई समावेशीता भनेकै पहुँचको कुरा हो । पहुँच नभइ समावेशी हुनै सकिँदैन । अर्को महत्वपूर्ण कुरा के हो भने पूर्वाधार मात्रै पनि पहुँच हैन । बोल्न नसक्नेका लागि दोभाषे हुनु पहुँच हुनु हो । कसैको कुरा अरुमा पुग्नु नै पहुँच हो । मैले नदेखे पनि थाहा पाउनु पहुँच हो । तर देख्न सक्दैन जे गरेपनि हुन्छ भन्नु नै ठूलो गल्ती हो ।

अपाङ्गता भएका व्यक्तिको पनि विविधिकरण छ । उनीहरूलाई फरक तरिकाले सम्बोधन गर्नु जरुरी छ । त्यसैले पनि अपाङ्गता भएका व्यक्तिलाई फरक क्षमता भएका व्यक्ति भनिएको हो । कर्णालीको कुरा गर्दा भौगोलिक विकटता नै पहुँचको बाधक हो । त्यसलाई पनि राज्यको नीतिले नै सम्बोधन गर्ने हो । अपाङ्गतामैत्री नियम, कानुन र संरचना नै आजको आवश्यकता हो । अपाङ्गतामैत्री सोचको विकास गर्नु सबैभन्दा महŒवपूर्ण कुरा हो । उदाहरणको लागि हामीले खानेपानीको धारा निर्माण गर्दा त्यो पहुँचयोग्य छ÷छैन भनेर हेर्नैपर्छ । धारा मात्रै बनाउनुले केही हुँदैन ।

विश्व स्वास्थ्य संघका अनुसार विश्वमा १५ प्रतिशत जनसंख्यामा अपाङ्गता रहेको छ । अब तिनलाई अलग राखेर समाज कसरी समावेशी, समुन्नत र सुखी होला ।


 

 

 

म कालीकोट जिल्लाको छाप्रेमा २०२३ सालमा जन्मेको हुँ । मेरी आमाले जन्माएका २० बच्चामध्ये बाँचेका तीन जनामा म एक हुँ । मेरो यो अपाङ्गता जन्मजात हो । बच्चा जन्मँदै मर्ने भएकाले यो पनि त मरिहाल्ला भनेर मेरो उपचार गरिएन रे । न त त्यतिबेला उपचार नै सहज थियो । म ११ वर्षको हुँदासम्म विद्यालय गइनँ । मेरो दाइ भने स्कूल जानुहुनथ्यो । पढाइमा पनि राम्रो गर्नुभएको थियो । तर एक्लो छोरा भनेर जागिर खान दिइएको थिएन । उतिबेला पढ्नु भनेकै जागिर खानु भन्ने थियो । र जागिर खाएपछि घर बाट टाढा जानुपथ्र्यो । मलाई छोराको रूपमा गणनै गरिएन । दाइ नै मेरो प्रेरणाको स्रोत हो । अहिले उहाँ हुनुहुन्न । त्यसैले मेरो पौरख पनि देखाउन सक्दिन । घरमा सबैले यो हिँड्न नसक्नेलाई पढाउनु हुँदैन भन्थे । दाइले मात्र पढाउँ भन्नुभएको हो ।

त्यतिबेला एकदेखि तीन कक्षासम्मको स्कूल मेरै गाउँमा थियो । दाइको प्रेरणाले म ११ वर्षको उमेरमा आफै भागेर स्कूल गएँ । अनि बाध्य भएर बुबाले नाम लेखाउनुभयो । त्यसपछि हाम्रो स्कुल ५ कक्षासम्म भयो । अरुलाई आधा घण्टा लाग्ने स्कूल पुग्न मलाई एक घण्टा लाग्थ्यो ।

कक्षा ६ पढ्न हामीलाई जुविथा जानुपथ्र्यो । त्यहाँ पुग्न मलाई दुई घण्टा लाग्थ्यो । त्यतिबेला मेरो गाउँमा सपाङ्गले पनि जुत्ता चप्पल पाउँदैनथे । म त अपाङ्ग व्यक्ति झनै पाउने कुरै भएन । म खाली खुट्टै बिहान दुई घण्टा बेलुका दुई घण्टा हिँडेर पढेको हुँ ।

सजिलै हिँड्न नसक्ने हुँदा लठ्ठीको साहारा लिनुपथ्र्यो । लठ्ठीले हातमा पनि फोडा उठाएर रतग बग्थ्यो । बाटोमा मेरो अवस्था देख्ने आफन्तले यसलाई धेरै दुःख नदिनु भनेर बालाई भनिरहन्थे । यस्ता अपाङ्गलाई पढाएर पनि के नै हुन्छ र भनेर धेरैले भन्थे । तैपनि मैले अप्ठेरोको पर्वाह गरिनँ । मलाई सजिलो होला भनेर बुबाले जुविथामा डेरा खोजिदिनुभयो । तर मेरो पैताला उल्टो देखिने भएकाले धेरै हेपिनुप¥यो । केही दिनमै मैले डेरा छोडें र घरबाटै जाउआउ गरें ।

विद्यालयमा विभिन्न खेल हुन्थे । मलाई अपाङ्ग हो भनेर सहभागी हुनबाट रोक्थे । जसले जे भनेपनि म खेलमा पनि सहभागी हुन्थें । धेरैलाई कुस्तीमा पछार्थें । म भलिबल पनि खेल्थें । जति गार्हो भएपनि म खेलहरू खेल्थें । त्यसले मलाई अरुले भनेको कुरा सजिलै पचाउन सिकायो । र आफ्नो काममा निरन्तर अघि बढ्न हौस्यायो ।

म विद्यालय पढ्दाताका बहुदल–निर्दलको चुनाव भएको थियो । आठ कक्षा पढ्दा नै म नेपाल मजदुर किसान पार्टीमा संगठित भइसकेको थिएँ । राजनीतिसँगै पढाइ पनि भयो । २०४२ सालमा मैले एसएलसी पास गरें । त्यतिबेला टेष्ट पास भएपछि शिक्षक हुन सकिन्थ्यो । मेरा लागि यो धेरै ठूलो योग्यता थियो ।

म कक्षा ६ पढ्दादेखिनै हाई स्कूल स्तरमा हुने युनियनका चुनाव, रेडक्रसका चुनाव आदिमा सक्रिय रूपमा भाग लिन्थें र आफनो टीमलाई जिताउ लाग्थें । आठ कक्षामै हुँदा म राजनीतिक दलको संगठित सदस्य भएको थिएँ । मेरो दाजुको इच्छा अनुसार म क्याम्पस पढ्न जुम्ला गएँ । मलाई उहाँले नै विभिन्न अप्ठेरा ठाउँमा बोकेर जुम्ला पु¥याउनुभयो । मलाई क्याम्पसको पढाइ त्यति राम्रो लागेन । त्यसपछि रामकृष्ण बुढथापाबाट प्रभावित भएर गाउँमै शिक्षक हुन गएँ । त्यतिबेला बहुदलवादीले राजनीति गर्ने भनेकै शिक्षक भएर मात्र हो । पढाइलाई पनि निरन्तरता दिनुपर्छ भनेर दुई वर्षपछि दाइले मलाई नेपालगञ्ज क्याम्पसमा भर्न गरिदिनुभयो । त्यतिबेलासम्म मलाई राजनीतिको रस पसिसकेको थियो । त्यहाँपनि ६ महिना अलमल गरेर म फेरी गाउँ गएँ ।

म २०४७ सालसम्म मजदुर किसान पार्टीमा थिएँ । ४७ सालको केन्द्रीय भेलामा उपाध्यक्ष रामकृष्ण बुढथापाले अध्यक्ष रोहितले क्रान्ति गर्न सक्दैन भन्ने निष्कर्ष निकालेपछि हामी विद्रोही भयौँ । त्यतिबेलै प्रचण्डको पार्टीको एकता महाधिवेशन भएको थियो । एकीकृत मसालले क्रान्ति गर्ने कुरा गरेपछि हामी त्यसमा समाहित भयौँ । रामकृष्णलगायत एउटा टीमले समान हैसियत खोज्नुभयो । हामीले भने क्रान्ति भए पुग्छ भनेर तल्लो सेल कमिटीबाटै लाग्यौं ।
४८ देखि ५१ सालसम्म नेत्रविक्रम चन्द, प्रकाण्ड र रमेश विष्टहरूसँगै पार्टीको काम गरें । मैले पार्टीमा पार्ट टाइम काम गर्छु भनेको थिएँ तर धेरैले आत्मसमर्पण गरेपछि होलटाइमर हुनुप¥यो । म होलटाइमर भएर सुरुवातदेखिनै जनयुद्धमा होमिएँ ।

म २३ सालदेखि ४९ सालसम्म नाङ्गै खुट्टाले हिँडे । हेडमास्टर भएपछि जुम्लाका रिउलो मिजार भन्नेले मलाई चप्पल बनाइदिए । पछि उनले मलाई जुत्ता नै बनाइदिए ।

मलाई स्मरण छ जनयुद्धका दिन पनि धेरै दुःखदायी थिए । एक पटक हामी टोपलाको लेकमा थियौं । पाँच फिट गहिरो हिउँमा हिँड्दा मेरो एउटा जुता च्यतियो । म खाली खुट्टै एक दिनभरी हिउँमा हिँडें । जुम्लाको एक जना साथीले यसरी हिँड्दा हिउँले खान्छ भनेर आफ्नो टोपी मेरो खुट्टामा बेरिदिनुभयो । त्यो हिउँको असर अझै बाँकी छ ।

अतः अपाङ्गताको विषय सबैभन्दा पहिले राज्यको विषय हो । हिजोको विभेदकारी राज्यले अपाङ्गता भएका व्यक्तिलाई हेर्दै हेरेन । आजपर्यन्त हामीले विभिन्न खाले विभेद देखेका भोगेका छौँ । अब राज्यले अपाङ्गता भएका व्यक्तिको पहुँचमा ध्यान दिनुपर्छ । त्यसपछि पौरख व्यक्तिले गर्ने कुरा हो ।

मैले कालीकोट जिल्लामा १० वर्ष पार्टी अध्यक्षको रूपमा काम गरेँ । २०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित भएँ । संसद्मा पाँच वर्षसम्मै मलाई हजुर समानुपातिकतर्फबाट निर्वाचित होला है भनिरह । हुनत समानुपातिकलाई हेर्ने दृष्टि पनि विभेदकारी छ । यसलाई बदल्नुपर्छ । अहिले म कर्णाली प्रदेश सभा सदस्य हुँ । मैले प्रत्यक्षतर्फको चुनाव जितेको हुँ । यद्यपि, यहाँपनि हजुर समानुपातिक हैन भन्नेको कमी छैन । लोगो नचिन्ने कतिपयले त माननीय हो भनेर पनि विश्वास गर्दैनन् ।


 

 

 

 

 

कर्णालीलाई राज्यले अझै दुर्गम मान्छ । कर्मचारीलाई सजाय दिन कर्णालीमा सरुवा गर्ने प्रवृत्ति अझै कायमै छ । यसबाट मुक्ति मिलोस् भन्ने चाहना हो ।

राष्ट्रिय जनगणना बमोजिम नेपालमा २.२ प्रतिशत अपङ्गगता भएका व्यक्ति छन् । कर्णाली प्रदेशमा उक्त प्रतिशत ३.७ रहेको छ । पछिल्लो आँकडा हेर्दा हुम्लामा मात्रै ४० प्रतिशत व्यक्तिमा हेराइ सम्बन्धी समस्या छ ।

हामी सानो छँदा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण अर्कै थियो । बोल्न र सुन्न नसक्नेलाई लाटो–बहिरो भन्थ्यौं । अचेल भाषिक सुधार भएको छ ।

अपाङ्गगता अधिकार बनाउने बेला मैले पनि टिममा रहेर काम गरेको हुँ । अहिले अपाङ्गता भएका धेरै व्यक्तिले अवसर पाउँदै गएका छन् र पौरख पनि गरेका छन् । उनीहरुलाई हेर्ने र बुझ्ने दृष्टिकोणहरूमा पनि परिवर्तन भएका छन् ।

मैले औपचारिक रूपमा नेपाल सरकारका प्रधानमन्त्रीको सल्लाहकारको रूपमा सात महिना जति काम गरें । आज पनि म देशभरीको २० लाख अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि बोल्ने लेख्ने अभियन्ता नै हुँ । अपाङ्गता भएका व्यक्तिका कथा कम दर्दनाक छैनन् । म आफै अपाङ्गता भएको व्यक्ति पनि अरु अपाङ्गता भएका व्यक्तिका कथा सुनेर रोएको छु । कतिपय किशोरी र महिलाका पीडा अभिव्यक्तै गर्न नसकिने खालका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक, मानसिक र यौनिक हिंसा भएका धेरै घटना छन् । उनीहरूको सामाजिक संरक्षण जरुरी छ ।

हाम्रा भौतिक संरचना अपाङ्गतामैत्री छैनन् । यसले गर्दा अपाङ्गता भएका व्यक्तिलाई यो देश मेरो पनि हो भन्न अप्ठेरो लाग्छ । कर्णालीको सन्दर्भमा यो अझ बढी महत्वपूर्ण छ ।

 


 

 

 

यहाँ आउनुभएका सबैजसोलाई लागेको होला कि म सुन्न मात्रै सक्दिन, बोल्न सक्छु । किनकि मलाई जहाँ जाँदापनि त्यही भन्नुहुन्छ । तर म न बोल्न सक्छु न सुन्न । यद्यपि, म साँकेतिक भाषामा कुराकानी गर्न सक्छु । मेरो साँकेतिक कुराकानीलाई अर्थ लगाइदिन म साथीहरुलाई अनुरोध गर्छु ।

मेरो जन्मभूमि सुर्खेत हो । म जन्मँदै बहिरो भन्ने कसैलाई थाहा हुने कुरै भएन । विस्तारै ठूलो हुँदै जाँदा नबोलेपछि मात्रै थाहा भयो कि म बोल्द सक्दिन । त्यो चार वर्षजति हुँदाको कुरा हो ।

सुर्खेतमा कक्षा एकदेखि चारसम्म पढाउने बहिरा स्कूल थियो । तर त्यति राम्रो व्यवस्था थिएन । मैले काठमाडौं गएरै पढें । २०५९ सालमा मैले एसएलसी दिएकी हुँ । त्यसपछिको शिक्षा लिन पनि सहज नभएपछि मैले जीवनोपयोगी सीपहरू सिक्ने तालिम लिएँ र काम गर्न थालें । यसै क्रममा कर्णाली प्रदेशमा बहिराहरुको लागि काम गर्ने संस्था कमजोर रहेको बुझें । त्यसपछि मैले भेरी बहिरा संघका पुराना पदाधिकारीहरूसँग कुरा गरें । दर्ता कागजातहरू खोजें । र त्यसलाई ब्यूँताएँ । मैले यही संघको माध्यमबाट बहिराहरूको अधिकारको लागि काम गरें ।

बहिराहरू सरकारको पनि प्राथमिकतामा परेको छैन । सरकारले उनीहरूको शिक्षा स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । उनीहरूका विशिष्ट समस्या समाधान र रोजगारी सिर्जना गर्ने काम गर्नुपर्छ । सार्वजनिक नीति त बनेका छन् तर तिनको कार्यान्वयनमा समस्या छ । सुरुमा त हामीलाई छुट्टै भाषा चाहिन्छ । न हामी अरुले बोलेको बुझ्न सक्छौं न त हामीले बोलेका कुरा अरुले नै बुझ्छन् । यसका लागि हामीलाई दोभाषेको व्यवस्था हुनु अनिवार्य हो । कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमा एक जना दोभाषेको व्यवस्था गरेकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले केही नगर्ने हो भने समाजले पनि हामीलाई हेप्छ । केही गर्न नसक्नेको संज्ञा दिन्छ । यो लाटो हो यसले घर बाहिर गएर केही गर्न सक्दैन भनेको सुन्दा दुःख लाग्छ ।

बहिरा व्यक्तिको पहुँच भनेकै दोभाषेको व्यवस्था हुनु हो । हामी अरु सबै काम गर्न सक्छौं । तर हाम्रो कुरा अरुलाई बुझाउन सक्दैनौं । न त अरुको कुरा नै बुझ्न सक्छौं । हामीलाई सूचनाको पहुँच नै धेरै महŒवको कुरा हो । त्यसका लागि साँकेतिक चित्र वा भाषाका सन्देशहरू निर्माण गरी प्रशारण गर्नुपर्छ । हामी अस्पताल वा अदालत जहाँ जाँदा पनि हाम्रो कुरा बुझ्ने कोही हुँदैन । त्यसो भएपछि न डाक्टरले हाम्रो कुरा बुझ्छन् न न्यायाधीशले । नबुझेरै दिएको दबाई र न्यायले के काम गर्ला ?

प्रकाशित मितिः   २२ जेष्ठ २०८१, मंगलवार ०५:०४