जंगल जोगाऊ

कर्णाली प्रदेशका जंगलमा बर्सेनि आगलागी हुन्छ । आगलागीबाट हजारौँ हेक्टरमा वनजंगल मासिँदै गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ठूलो क्षेत्रमा वन क्षति हुँदै आएको हो । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुने गरेको छ । खासगरी चैत, वैशाख र जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । आगलागीबाट हरेक वर्ष हजारौँ हेक्टर जंगल नास हुने गरे पनि सरकारले डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी कदम चाल्न सकेको छैन । विभिन्न कारणले जंगलमा आगलागी हुने गरेपनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ । काठ तस्कर, शिकारी, स्थानीय बासिन्दाले पनि आगो लगाउँदा आगलागी हुने गरेको छ । पहाडि क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर स्थानीयले नै आगो लगाइदिने गरेको पाइएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको हालसम्म सुर्खेत जिल्लामा एक ३५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट यो वर्ष मात्र १३ हजार नौ सय २७ हेक्टर वनजंगलमा क्षति पुगेको छ । गत वर्षभन्दा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । सुर्खेत जिल्लामा मात्रै नभएर कर्णाली प्रदेशमा पछिल्लो तथ्यांकअनुसार हजारौँ हेक्टर वनजंगलमा आगलागी भएर मासिँदै आएको छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर दुई सय भन्दा धेरै आगलागीका घटना भएका छन् । उक्त आगलागीका घटनाबाट हजारौँ हेक्टर वनजंगल नष्ट भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा आगलागीमा परेर १० जनाको मृत्यु भएको छ भने १६ जना आगलागीमा परेर घाइते भएका छन् । जिल्ला–जिल्लामा रहेका वन डिभिजन कार्यालयमार्फत वनको संरक्षण, सम्वद्र्धन र आगलागी नियन्त्रणको कार्यक्रम भने बेलाबखत हुने गरेका छन् । डिभिजन वन कार्यालयले प्रहरी, सामुदायिक वनका उपभोक्ता समिति, स्थानीयलगायतको समन्वयमा आगलागी हुन नदिन जनचेतना र आगलागी भएपनि नियन्त्रण गर्नेगरेको देखिन्छ ।

आगलागीबाट वनजंगल मात्र होइन्, वातावरणमा समेत नराम्रो असर पर्ने गरेको छ । डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिँदै आएका छन् । जंगलमा आगो लाग्दा वातावरणीय रूपमा नकारात्मक असर परेको छ । वन जंगलमा आगलागी हुँदा जैविक विविधताको विनास, पारिस्थितिक प्रणालीको विनास हुन्छ । आगलागीले भुक्षयको जोखिम हुन्छ । बोट विरुवा नष्ट हुँदा माटो अडाउने केही नहुँदा पहिरो जाने, भुक्षय हुने जोखिम हुन्छ । पछिल्लो समय जानीजानी मानवीय त्रृटिका कारण आगलागी बढेको छ । वन जोगाउन बर्सेनि हुने आगलागीका घटना नियन्त्रण गर्न जरुरी छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०८१, मंगलवार ०५:०३