मातृ–शिशुको ज्यान जोगाउनै मुस्किल

सुर्खेत: गएको चैत २९ गते दैलेखकी ३० वर्षीया पार्वता थापालाई सुत्केरी व्यथाले च्याप्यो । आठबिस नगरपालिका–९ छेपाडीमा घर भएकी उनलाई २९ गते साँझ ५ बजे नजिकैको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लगियो । सात घण्टासम्म पनि उनको बच्चा नजन्मिएपछि त्यहाँबाट राती नै ठाँटीकाँध स्वास्थ्य चौकीमा लगियो । घण्टौ समय बित्दापनि उनको बच्चा नजन्मिएपछि २९ गते राती करिब १२ बजे नै ठाँटीकाँधबाट प्रदेश अस्पताल सुर्खेतमा पठाइयो । तर उनी अस्पताल पुग्न नपाइ सुत्केरी भइन् । चैत ३० गते बिहान करिब ३ बजे बाटोमै छोरालाई जन्म दिइन् । तर अस्पतालसम्म पु¥याउँदा बच्चाको मृत्यु भइसकेको थियो ।

यस्तै, २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको मृत्यु भयो । उनलाई सुत्केरी व्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । अन्य समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उनको मृत्यु भएको अस्पतालले घोषणा गर्‍यो ।

कर्णालीका दुर्गम भेगमा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटोमै सुत्केरी हुनुपरेका यी प्रतिनिधि पात्र मात्र हुन् । अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरू बाटोमै सुत्केरी हुन्छन् । सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण कतिले त बाटोमै ज्यान गुमाउनु परेको छ ।

 

अस्पतालमै असुरक्षित आमा

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्यांकले देखाएको छ । दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म प्रदेश अस्पताल सुर्खेतमा नौ जना सुत्केरी हुन गएका आमाहरूले ज्यान गुमाएका छन् । सुर्खेत जिल्लामा सुत्केरीको समयमा हुने कूल मृत्युको ५७ प्रतिशत स्वास्थ्य संस्थामा पुगेपछि हुने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै घरैमा सुत्केरी गराउँदा मृत्यु हुने महिलाको संख्या २६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

सुर्खेतमा सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमा १७ प्रतिशत महिलाको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी जनस्वास्थ्य निरीक्षक अञ्जना भण्डारीले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा सुत्केरी हुन कर्णाली प्रदेश अस्पतालमा पुगेका नौ जना महिलाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षमा प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी हुन आएका तीन जना सुत्केरीले ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षमा मृत्यु भएका सुत्केरीमा दुई जना सुर्खेत जिल्लाका छन् भने सात जना अन्य जिल्लाका छन् । प्रसवोत्तर (सुत्केरी भएको ४२ दिनसम्मको अवधि) समयमा ६१ प्रतिशत, गर्भावस्थाको समयमा ३३ प्रतिशत र सुत्केरी अवस्थामा ६ प्रतिशत महिलाको ज्यान जाने गरेको जनस्वास्थ्य कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस्तै, सुर्खेतमा कोभिड–१९ को समयमा १५ प्रतिशत महिलाको मृत्यु भएको भण्डारीले जनाइन् ।

 

उमेर नपुग्दै आमा

चालु आर्थिक वर्षमा सुर्खेत जिल्लाभर २० दशमलव चार प्रतिशत २० वर्षमुनिका किशोरी सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा यो संख्या १९ दशमलव ६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
सुर्खेतका नौवटा स्थानीय तहमध्ये सिम्ता गाउँपालिकामा धेरै बालविवाह हुने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म सिम्तामा ३४ दशमलव चार प्रतिशत २० वर्षमुनिका किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा यो संख्या ३४ दशमलव ६ प्रतिशत थियो ।

यस्तै भेरीगंगा नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा २३ दशमलव एक प्रतिशत उमेर नपुगेका किशोरीहरू सुत्केरी भएकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर ३३ दशमलव ६ प्रतिशत पुगेको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा गत आर्थिक वर्षमा ३२ दशमलव चार प्रतिशत उमेर नपुगेका किशोरीहरू सुत्केरी हुन अस्पताल आएकोमा चालु आर्थिक आर्थिक वर्षको हालसम्म २९ दशमलव तीन प्रतिशत किशोरी सुत्केरी भएका छन् ।

चिङ्गाड गाउँपालिकामा ३२ दशमलव तीन, लेकवेशी नगरपालिकामा ३० दशमलव सात, वीरेन्द्रनगर नगरपालिका १६ दशमलव चार, बराहताल गाउँपालिकामा ३० दशमलव चार, पञ्चपुरी नगरपालिका १४ दशमलव पाँच र चौकुने गाउँपालिकामा २९ प्रतिशत किशोरीहरू उमेर नपुगी सुत्केरी हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०८१, आईतवार ०५:०५