आगलागीले मासिँदै वन

 

सुर्खेत: आगलागीबाट बर्सेनि हजारौँ हेक्टरमा वनजंगल मासिँदै गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ठूलो क्षेत्रमा वन क्षति हुँदै आएको हो । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुने गरेको छ ।

खासगरी चैत, वैशाख र जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । आगलागीबाट हरेक वर्ष हजारौँ हेक्टर जंगल नास हुने गरे पनि सरकारले डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी कदम चाल्न नसकेको सरोकारवालाको गुनासो छ ।

विभिन्न कारणले जंगलमा आगलागी हुने गरेपनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ । काठ तस्कर, शिकारी, स्थानीय बासिन्दाले पनि आगो लगाउँदा आगलागी हुने गरेको छ । पहाडि क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर स्थानीयले नै आगो लगाइदिने गरेको पाइएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको हालसम्म सुर्खेत जिल्लामा एक ३५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट यो वर्ष मात्र १३ हजार नौ सय २७ हेक्टर वनजंगलमा क्षति पुगेको छ । गत वर्षभन्दा आगलागीका घटनामा वृद्धि भएको कार्यालयका डिभिजनल अधिकृत बसन्तबाबु श्रेष्ठले बताए ।

सुर्खेत जिल्लामा मात्रै नभएर कर्णाली प्रदेशमा पछिल्लो तथ्यांकअनुसार हजारौँ हेक्टर वनजंगलमा आगलागी भएर मासिँदै आएको छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर दुई सय भन्दा धेरै आगलागीका घटना भएका छन् । उक्त आगलागीका घटनाबाट हजारौँ हेक्टर वनजंगल नष्ट भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा आगलागीमा परेर १० जनाको मृत्यु भएको छ भने १६ जना आगलागीमा परेर घाइते भएका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले वनमा लागेको आगोले बर्सेनि क्षति हुँदै आएको बताए । उनले जिल्लामा रहेका वन डिभिजन कार्यालयमार्फत वनको संरक्षण, सम्वद्र्धन र आगलागी नियन्त्रणको कार्यक्रम भइरहेको जनाए । डिभिजन वन कार्यालयले प्रहरी, सामुदायिक वनका उपभोक्ता समिति, स्थानीयलगायतको समन्वयमा आगलागी हुन नदिन जनचेतना र आगलागी भएपनि नियन्त्रण गर्नेगरेको उनको भनाइ छ । उनले भने, ‘आगलागीबाट वनजंगल नराम्रोसँग विनास हुनेगरेको छ । यसको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक छ ।’

आगलागीबाट वनजंगल मात्र होइन्, वातावरणमा समेत नराम्रो असर पर्नेगरेको छ । डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिँदै आएका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार आगलागीको क्षतिको विवरण संकलन भइरहेको छ । गतवर्षभन्दा धेरै नै वनजंगलमा क्षति पुगेको उनको भनाइ छ ।

वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धन अभियान्ता डा. नवराज केसीले वन जंगलमा आगो लाग्दा वातावरणीय रूपमा नकारात्मक असर परेको बताए । उनले भने, ‘वन जंगलमा आगलागी हुँदा जैविक विविधताको विनास, पारिस्थितिक प्रणालीको विनास हुन्छ । आगलागीले भुक्षयको जोखिम हुन्छ । बोट विरुवा नष्ट हुँदा माटो अडाउने केही नहुँदा पहिरो जाने, भुक्षय हुने जोखिम हुन्छ ।’ पछिल्लो समय जानीजानी मानवीय त्रृटिका कारण आगलागी बढेको उनले जनाए ।

प्रकाशित मितिः   २१ जेष्ठ २०८१, सोमबार १३:१२