असुरक्षित मातृ–शिशु स्वास्थ्य

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्यांकले देखाएको छ । दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको मृत्युका घटना बर्सेनि सार्वजनिक भइरहन्छन् । कतिपय स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् । यो श्रृंखला वर्षेनी दोहोरिरहन्छ । आमाहरूको मात्रै होइन शिशुको मृत्यु पनि उस्तै भयावह छ । मातृ–शिशु मृत्युदर डरलाग्दो छ । कर्णाली प्रदेशमा वर्षेनी विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरू बाटोमै सुत्केरी हुन्छन् । सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण कतिले त बाटोमै ज्यान गुमाउनु परेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म प्रदेश अस्पताल सुर्खेतमा नौ जना सुत्केरी हुन गएका आमाहरूले ज्यान गुमाएका छन् । सुर्खेत जिल्लामा सुत्केरीको समयमा हुने कूल मृत्युको ५७ प्रतिशत स्वास्थ्य संस्थामा पुगेपछि हुने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै घरैमा सुत्केरी गराउँदा मृत्यु हुने महिलाको संख्या २६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । सुरक्षित प्रसुतिका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा १७ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ ।

मातृ–शिशु मृत्युदरको तथ्यांक डरलाग्दो छ । यसले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था, पहुँच र उपचारको अवस्था पनि दर्साउँछ । मातृ–शिशुको मृत्यु रोक्न सरकारी तथा गैरसरकारी तहबाट पनि पहल भइरहेको छ । सरकारले स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्तासमेत दिने गरेको छ । तर पनि सुत्केरी गराउन अस्पताल जानेको संख्या निकै कम छ । जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको छ । तर, यो सेवा भने सबैको सहज पहुँचमा छैन । विगका वर्षभन्दा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढेको भए पनि मृत्यु हुनेक्रम रोकिएको छैन ।

प्रकाशित मितिः   २१ जेष्ठ २०८१, सोमबार १३:२८