जनशक्ति अभाव

मानव संशाधन विकास केन्द्र सुर्खेतमा जनशक्ति अभाव छ । ३२ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १५ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । आधाभन्दा धेरै कर्मचारी दरबन्दीअनुसार छैनन् । १७ जनाको दरबन्दी रिक्त छ । अन्य करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । संघीयताको कार्यान्वयनसँगै २०७६ मा प्रत्येक प्रदेशमा मानव संसाधन विकास केन्द्र स्थापना गरिएको हो । सुरुका वर्षदेखि नै कार्यालयमा दरबन्दी अभाव हुनेगरेको थियो ।

सबैभन्दा धेरै शिक्षा तालिम शाखामा कर्मचारी अभाव रहेको पाइएको छ । शिक्षा शाखाका लागि स्वीकृत सात जनाको दरबन्दी भएपनि एक जना कर्मचारीको भरमा काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा कार्यालयले लक्ष्य अनुसारको काम गर्न सकेको छैन । एक जना कर्मचारीको भरमा शाखाबाट काम सञ्चालन भइरहेका छन् । अहिले आधारभूत र माध्यमिक तहको तालिम सञ्चालन भइरहेको छ । तालिम सञ्चालन गर्ने जनशक्ति छैन, बाहिरबाट प्रशिक्षक ल्याएर तालिम दिनुपर्ने बाध्यता छ । एक जना कर्मचारीको भरमा प्रदेशभरका २२ हजार शिक्षकलाई तालिम दिनुपरिरहेको छ । शिक्षा शाखाले शिक्षककोे क्षमता विकास गर्ने, तालिमको अभिलेख राख्ने, प्रमाणपत्र वितरण गर्ने, तालिमका लागि सामग्री निर्माण र विकास गर्ने गरेको छ । कर्णाली प्रदेशका दश वटै जिल्लाका २२ हजार शिक्षकलाई विकास केन्द्रको शिक्षा शाखाले तालिम प्रदान गर्ने गर्छ । तर अहिले सञ्चालन भएका तालिम प्रभावकारी हुननसकेको जनाइएको छ । पर्याप्त जनशक्ति नहुँदा शिक्षकको वृत्तिविकासमा प्रत्यक्ष असर परिरहेको छ । २०८० चैतमा शिक्षा शाखा तालिम केन्द्रका प्रशिक्षक सुवर्ण खड्का बढुवा भएर सामाजिक विकास मन्त्रालयमा गएपछि तालिम केन्द्रको काम नै प्रभावित भएको छ । उनी गएको दुई महिना बित्दापनि उनको ठाउँमा अर्को व्यक्ति आएका छैनन् । सुरुवातीदेखि नै जनशक्ति अभाव झेलिरहेको मानव संशाधन विकास केन्द्रको शिक्षा शाखामा प्रभावकारी काम हुनसकेका छैनन् ।

शिक्षा शाखामा मात्र होइन अन्य शाखामा समेत पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित हुने गरेको छ । कार्यालयको व्यवसायिक सीप समन्वय शाखामा पाँच जनाको स्वीकृत दरबन्दी हो । अहिले तीन जना मात्र दरबन्दीमा कार्यरत छन् । दुई जनाको दरबन्दी रिक्त छ । सीप सिकाउने शाखामा नै कर्मचारी नहुँदा समस्या भइरहेको छ । अर्कोतर्फ स्वास्थ्य तालिम शाखामा पनि जनशक्ति अभाव छ । स्वास्थ्य तालिम शाखामा पाँच जनाको स्वीकृत दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् । यसरी दरबन्दीअनुसारकै जनशक्ति नहुँदा प्रदेश संरचनाको कार्यसम्पादन पनि प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मितिः   २० जेष्ठ २०८१, आईतवार ०५:०३