बालबालिकामाथि लगानी

भनिन्छ, ‘आजका बालबालिका भोलिका देशका कर्णधार हुन् ।’ त्यसो भए देशका कर्णधार तयार पार्न राज्य कति गम्भिर र जिम्मेवार छ ? जिम्मेवार हुनुपर्ने राज्य गैरजिम्मेवार देखिन्छ । किनभने बालबालिकामाथि लगानी नै कम छ । लगानी नगरेर प्रतिफल खोज्न सकिदैन । तर, भइरहेको छ त्यही । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनअनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारले छुट्याएको ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कूल बजेटमध्ये १४ करोड ९० लाख १७ हजार सात सय ७३ अर्थात् एक दशमलव २८ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा विनियोजन भएको थियो । त्यसैगरी, २०७९/०८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ । कूल बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार हुँदा बालबालिकाको क्षेत्रमा २८ करोड १४ लाख २८ हजार आठ सय आठ अर्थात् ० दशमलव ८६ प्रतिशत थियो । यस्तै, चालु आर्थिक वर्षमा समेत बालबालिकाको क्षेत्रमा बजेट एक दशमलव ०७ प्रतिशत मात्रै विनियोजन भएको छ । यस वर्ष सरकारले कूल ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जसमध्ये बालबालिकाको क्षेत्रमा ३५ करोड ५८ लाख २५ हजार ५२ मात्रै विनियोजन भएको देखिन्छ । प्रदेश सरकार उदासिन देखिए पनि केही स्थानीय तहहरूले भने बालबालिकाको सहभागितामा योजना बनाउँदै बजेट छुट्टयाउन थालेका छन् । कानुन नै निर्माण गरेर बालमैत्री योजनाहरू बनाइरहेको भेटिन्छ । स्थानीय तहको योजना तर्जुमामा समेत बाल सहभागिता अनिवार्य गरिएको छ । यो सकारात्मक कदम हो । सबै स्थानीय तहले अनुकरण गर्न जरुरी छ । बालकेन्द्रित नीति, कार्यक्रम र बजेट निर्माण गर्ने स्थानीय तहहरू गम्भिर हुर्नपर्दछ ।

बालबालिकामाथिको लगानीका क्षेत्र धेरै छन् । चाहे उनीहरूको व्यक्तिगत वृत्तिविकासको क्षेत्र होस् या शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रमा सरकारले प्रभावकारी नीति, योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्दछ । बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्दछ । आजको लगानीले भोलि देशका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति समेत तयार हुनेछ । त्यसैले बालबालिकामाथिको लगानी देशको भविष्यका लागि गरिएको हो ।

प्रकाशित मितिः   १६ जेष्ठ २०८१, बुधबार ०५:०३