शाक्यले कोरेको चित्र बन्यो उत्कृष्ट

 

सुर्खेत: सुर्खेतका सुभाषकुमार शाक्य कर्णाली प्रदेशको उत्कृष्ट चित्रकारको रूपमा पुरस्कृत भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा शाक्यको कोरेको कलाकृति उत्कृष्ट हुन सफल भएको हो ।

प्रादेशिक ललितकला अन्तर्गत समसामयिक चित्रकला विधातर्फ उनी उत्कृष्ट भएका हुन् । शाक्यले प्रदर्शनीमा राउटे महिला तथा बालबालिकाको दैनिकीलाई चित्रका माध्यमबाट उतारिएको तस्विर तयार पारेका थिए । उनले नगद ३० हजार पुरस्कार प्राप्त गरेका छन् । विगतदेखि नै चित्रकलातर्फ संलग्न शाक्य कमर्सियल आर्टिष्ट संघ सुर्खेतको संस्थापक तथा केन्द्रीय सदस्य हुन् ।

यसैगरी प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कारतर्फ समसामयिक मूर्तिकलामा कर्णालीबाट सल्यानका टोपेन्द्र डाँगी उत्कृष्ट भएका छन् । उनले नगद ५० हजार पुरस्कार प्राप्त गरे । साथै जाजरकोटका कोसीकुमार बुढाले बनाएको भूकम्पको बेदनाको मूर्ति कर्णालीको उत्कृष्ट मूर्ति भएको छ । उनले पनि नगद २० हजार प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   १६ जेष्ठ २०८१, बुधबार ०५:०२