खाद्य बजारमा बेथिति

खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । विभिन्न निकायले अनुगमन गरी कैफियत भेटिएमा आवश्यक कानुनी कारबाही अघि बढाएपनि बजारको बेथिति कम हुन सकेको छैन ।

नियमित बजार अनुगमन गर्ने गरिएको भएपनि बदमासी रोकिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्यान्न, दलहन र सोबाट बनेका, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफि, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दानालगायतका वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्छ । चालु आर्थिक वर्षको हालसम्म तीन सय ३३ पटक बजार अनुगमन गरिएको छ । पहिलो त्रैमासिकमा एक सय ५०, दोस्रो त्रैमासिकमा ५७ र तेस्रो त्रैमासिकमा एक सय २६ पटक गरी तीन सय ३३ पटक बजार अनुगमन गरिएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय ५० पटक खाद्य बजारको अनुगमनको गरिएको छ । दाना बजारको अनुगमन चार पटक, होटल÷रेष्टुरेन्ट÷खाजा घर÷मिठाई पसलमा ६९ पटक अनुगमन गरिएको हो । खाद्य उद्योगमा ८२ पटक, संवेदनशील खाद्यपदार्थ (दुध, तेल, पानी) उत्पादन गर्ने उद्योगमा २८ पटक अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । ती जिल्लाका बजारहरूबाट १६ लाख नौ हजार नौ सय ४८ रूपैयाँ बराबरका म्याद गुज्रेका सामान नष्ट गरिएको छ । कार्यालयले हालसम्म पाँच सय ९९ वटा खाद्य नमुना विश्लेषण गरेको छ । जसमध्ये आठ वटा खाद्य नमुना उद्योगलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ । बेलाबखत अनुगमन तथा मिसावट र म्याद नाघेका वस्तु नियन्त्रणमा लिने गरेपनि बेथिति रोकिएको छैन । अर्कोतर्फ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफै अनेक समस्याले गुज्रिएको छ । पर्याप्त जनशक्ति र स्रोत–साधन नहुँदा बजार अनुगमनमा समस्या हुने गरेको छ । २१ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १२ जनाको पदपूर्ति भएको छ । त्यसैले कार्यालयलाई आवश्यक जनशक्तिसहितको बनाउन जरुरी छ भने खाद्य बजारलाई व्यवस्थित बनाउन व्यवसायी तथा व्यवसायीहरू आवद्ध संस्थाहरूको भूमिका पनि प्रभावकारी हुनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०८१, बुधबार ०५:०३