‘झ्यालबाट योजना माग्ने प्रवृति अन्त्य हुन्छ’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका क्रममा मन्त्रालयहरूमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् । मंगलवार पत्रकारहरूसँगको छलफलमा उनले बस्तीस्तरबाट आएका योजनालाई प्राथमिकतामा राखिने भन्दै झ्यालबाट योजना माग्ने प्रवृतिलाई निरुसाहित गरिने जनाएका हुन् ।

आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सुझाव संकलनका लागि पत्रकारसँगको छलफल गरेका कँडेलले बजेट माग्न जिल्ला जिल्लाबाट मन्त्रालय धाउने अवस्था अन्त्य गरिने बताए । ‘हरेक जिल्लामा प्रदेश सरकारका आफ्नै कार्यालयहरू छन्, स्थानीय तह छन्, सम्बन्धित तहबाटै योजनाहरू आउनुपर्छ’ कँडलले भने ।

मुख्यमन्त्री कँडेलले यसअघिका सरकारले सञ्चालनमा ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी भइरहेको जनाए । आगामी संघीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा अर्थमन्त्री वर्षमान पुनसमक्ष कर्णालीका ठूला आयोजना कर्णाली कोरिडोर, भेरी कोरिडोर, कालीकोट–मुगु सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाएसम्म कर्णालीलाई दिने बजेटको कुनै अर्थ नहुने व्यहोराको पत्र बुझाइसकेको उनले बताए ।

त्यसैगरी गेमचेन्जर परियोजनाका रूपमा रहेका सुर्खेत विमानस्थल विस्तार तथा आन्तरिक उडानको प्रत्याभूति, कोहलपुर–सुर्खेत चार लेन सडक विस्तार, १३२ केभी प्रसारण लाइन तथा भेरी बबई डाइभर्सन परियोजना विस्तारको योजना अगाडि बढाउन संघीय सरकारसँग माग गरिएको मुख्यमन्त्री कँडेलले बताए ।

यसका साथै सुर्खेत विमास्थल विस्तारका लागि प्रदेशसँगै संघीय सरकारले पनि हिस्सा लिनुपर्ने उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कँडेलले आमसञ्चार प्रतिष्ठानलगायतका सञ्चार क्षेत्रका कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूले कल्याणकारी विज्ञापन बाह्रै महिना उपलब्ध गराउनुपर्ने, नीतिगत रूपमा मिडियाको स्रोत निधारण गर्नुपर्ने, सुशासन ऐन सशोधन गर्नुपर्ने, मिडिया उद्योग अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रकाशित मितिः   २ जेष्ठ २०८१, बुधबार ०५:०१