बजारमा बढ्दो बदमासी

खाद्य वस्तुमा मिसावट, म्याद नाघेका वस्तु बिक्री–वितरण

सुर्खेत: खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

विभिन्न निकायले अनुगमन गरी कैफियत भेटिएमा आवश्यक कानुनी कारबाही अघि बढाएपनि बजारको बेथिति कम हुन सकेको छैन । खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख डा. क्षितिज क्षेष्ठले बजारमा बदमासी हुनेक्रम नरोकिएको बताएका छन् । सोमवार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक गतिविधिको प्रगति विवरण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म तीन सय ३३ पटक बजार अनुगमन गरिएको छ । पहिलो त्रैमासिकमा एक सय ५०, दोस्रो त्रैमासिकमा ५७ र तेस्रो त्रैमासिकमा एक सय २६ पटक गरी तीन सय ३३ पटक बजार अनुगमन गरिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय ५० पटक खाद्य बजारको अनुगमनको गरिएको छ । दाना बजारको अनुगमन चार पटक, होटल÷रेष्टुरेन्ट÷खाजा घर÷मिठाई पसलमा ६९ पटक अनुगमन गरिएको हो । खाद्य उद्योगमा ८२ पटक, संवेदनशील खाद्यपदार्थ (दुध, तेल, पानी) उत्पादन गर्ने उद्योगमा २८ पटक अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । ती जिल्लाका बजारहरूबाट १६ लाख नौ हजार नौ सय ४८ रूपैयाँ बराबरका म्याद गुज्रेका सामान नष्ट गरिएको छ । कार्यालयले हालसम्म पाँच सय ९९ वटा खाद्य नमुना विश्लेषण गरेको छ । जसमध्ये आठ वटा खाद्य नमुना उद्योगलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ । कारबाहीका लागि सिफारिस गरिएको यो तथ्यांक अघिल्लो वर्षको भन्दा बढी हो । ६ वटा मुद्दामा अनुसन्धान गरी सम्बन्धित निकायमा कारबाहीको प्रक्रियाका लागि पठाइएको छ भने दुई वटा मुद्दा अनुसन्धानको क्रममा छन् ।

खाद्यान्न, दलहन र सोबाट बनेका, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफि, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दानालगायतका वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्छ । ‘यस्ता खालका सबैजसो खाद्य वस्तुमा व्यवसायीले बदमासी गरेर बिक्री वितरण गर्ने गरेको भेटिँदै आएको छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र जारी गर्ने लगायतका काम गर्दै आएको छ । पछिल्ला वर्षहरूमा बजारमा केही सुधारका संकेत देखिएपनि व्यवसायीको प्रवृत्तिमा सुधार आउन नसकेको श्रेष्ठको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक विवरण अनुसार कार्यालयले ५३ दशमलव ६० प्रतिशत भौतिक प्रगति र ८५ दशमलव १२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाइएको छ । तलबमा बजेट खर्च कम भएकाले वित्तीय प्रगति थोरै देखिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । यस्तै, कार्यालयको भवन निर्माण कार्यको भुक्तानी हुन नसकेकोले पुँजीगत खर्च पनि कम भएको जनाएको छ ।

कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच गर्न प्रयोगशाला स्थापना गर्न गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पर्याप्त जनशक्ति र स्रोत–साधन नहुँदा बजार अनुगमनमा समस्या हुने गरेको बताएको छ । २१ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १२ जनाको पदपूर्ति भएको छ । सवारी साधन नहँुदा कार्य सञ्चालन तथा गतिविधिमा कठिनाइ भइरहेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । खाद्य बजारलाई व्यवस्थित बनाउन कार्यालयका साथै व्यवसायी तथा व्यवसायीहरू आवद्ध संस्थाहरूको भूमिका प्रभावकारी हुनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०८१, मंगलवार ०५:०५