लगानीको बाटो
कर्णाली प्रदेशमा बाह्य लगानी भित्रिने संकेत देखिएको छ । काठमाडौंमा सम्पन्न लगानी सम्मेलनले सकारात्मक संकेत दिनुका साथै बाह्य लगानीको बाटोसमेत खोलेको छ । यही वैशाख १६ र १७ गते सम्मेलन भएको थियो । लगानी सम्मेलनका लागि ‘प्रोजेक्ट बैंक’ का रूपमा ३९ वटा परियोजना कर्णालीबाट तयार पारिएको थियो । तर एउटा मात्र परियोजना सम्मेलनमा प्रस्तुत भएको छ । पाँच वर्षे ‘कर्णाली अर्गानिक मिसन परियोजना’ सम्मेलनमा प्रस्तुत गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब लागतको पाँच वर्षे परियोजना तयार पारेको छ । सम्मेलनबाट कर्णालीमा एउटा लगानी भित्रिएको छ भने थप लगानी भित्रिने बाटो खोलेको छ ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि बाह्य लगानी भित्रिएको हो । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रूपले लगानी गर्ने भएको छ । काठमाडौंमा आयोजना भएको लगानी सम्मेलनमा उक्त परियोजनाका लागि सम्झौता गरिएको छ । सम्झौतामा एक्सपर्ट ग्रूपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका ९ मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रूपैयाँ लगानी हुनेछ । समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन् । यो एक उदाहरण मात्रै हो । कर्णाली प्रदेश लगानीका हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । तर लगानीकर्तालाई आकर्षित गर्ने वातावरण बनाउन जरुरी छ ।
कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै लगानी सम्मेलन आयोजनाको निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन आयोजना गर्ने भनिएको प्रदेशस्तरीय लगानी सम्मेलन हरेक वर्ष अन्योलमा पर्ने गरेको छ । यही वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । तर सरकार परिवर्तनले सम्मेलन आयोजनामा बाधा पुगेको छ । प्रदेशस्तरमा पनि लगानी सम्मेलन गरेर लगानीकर्ताहरूलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार पनि गम्भिर हुन जरुरी छ ।
प्रकाशित मितिः २७ बैशाख २०८१, बिहीबार ०५:०३
सम्पादकीय ।