रारा किनारमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता

मुगु: रारा ताल किनारमा कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधवारबाट रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष कबड्डी टिमको सहभागिता रहेको छ भने डोल्पा, हुम्ला र रूकुमपश्चिम बाहेक अन्य सात जिल्लाबाट महिला टिमको सहभागिता छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कर्णाली प्रदेश आयोजक भएकोले पनि खेललाई पर्यटनसँग जोड्नको लागि यसरी पर्यटकीय स्थलमै कर्णाली प्रदेशस्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिताको आयोजना गरिएको बताए । ‘खेल क्षेत्रमा कर्णालीको सम्भावना धेरै छन् । कर्णालीमा साहासीक खेलकुद प्रतियोगिताको आयोजना पनि आयोजना गर्न सकिन्छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पनि नजिकिदै छ । खेललाई कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यसँग कसरी जोड्न सकिन्छ यो हामिले योजना बनाइरहेका छौँ,’ सदस्य सचिव संज्यालले भने, ‘यो हामिले सुरुवात मात्र गरेका हाँै । अब कर्णाली खेलकुद क्षेत्रमा अगाडी बढिसक्यो ।’

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्री मंगल शाहीले रारामा प्रदेशस्तरीय प्रतियोगिता हुनु नै महŒवपूर्ण भएको बताए । आगामी दिनमा पनि यस्ता खेलकुद प्रतियोगिताहरूलाई निरन्तरता दिनु पर्ने उनको भनाई थियो ।

रारामा भ्रमण गर्न देश विदेशका थुप्रै पर्यटक आउने भएकाले पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताले मुगुको लागि धेरै ठूलो सफलता भएको मुगु जिल्ला अध्यक्ष वीरेन्द्र बहादुर मल्लको भनाइ थियो । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मितिः   २७ बैशाख २०८१, बिहीबार ०५:०२