सामुहिक पर्यत्न
हरेक निकायमा महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आएको छ । सदियौंदेखि पछाडि पारिएको महिला वर्गलाई मूलधारमा अर्थपूर्ण सहभागिताका लागि अनेक आन्दोलन, संघर्ष र कार्यक्रमहरू हुँदै आएका छन् र भइरहेका छन् । विश्वभरी नै महिला सहभागिताको आन्दोलन भइरहन्छ । नेपालमा पनि महिला आन्दोलनले अनेकन चरण पार गरिसकेको छ । देशमा प्रजातन्त्रका लागि होस् वा आफ्नो अधिकार प्राप्तीका लागि महिला सधैं संघर्ष गर्दै रहे । महिलाहरूले देशमा विभिन्न कालखण्डका संर्घषमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । तर जब नीतिगत नेतृत्वमा सहभागिताको कुरा आउँछ महिलाहरूलाई पछाडि पारिन्छ । पुरुषहरूकै हालीमुहाली हुन्छ ।
उदाहरणका लागि कर्णाली प्रदेश सरकारलाई हेर्न सकिन्छ । २०७४ सालमा प्रदेश सभाको निर्वाचन भएपछि कर्णालीमा चार वटा सरकार बनिसके । चार जना मुख्यमन्त्री र ४० जना मन्त्री बन्दा मन्त्री हुने महिलाको संख्या भने पाँच जना मात्र छ । अहिले नेकपा(एमाले) संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । हालै मात्र उनले सरकार विस्तार गरेका छन् । जसमा कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाए । आठ सदस्यीय मन्त्रिपरिषद्मा उनी एक मात्र महिला हुन्, तर उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पाउने क्याबिनेट मन्त्री होइनन्, राज्यमन्त्री मात्र हुन् । महिला प्रतिनिधित्व देखाउन राज्यमन्त्री बनाइएको छ । मन्त्रालयकै नेतृत्व गर्ने जिम्मेवारी दिन भने कञ्जुस्याइँ गरिएको छ । रित पु¥याउन मात्र महिला मन्त्री बनाउने गरिएको हो । कर्णाली प्रदेशसभाका ४० जना सदस्यमध्ये १५ जना महिला छन् । उनीहरू सबै समानुपातिकतर्फबाट निर्वाचित महिला सदस्य छन् । राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यता हुनेगरेको छ । प्रत्यक्षमा महिला निर्वाचित नहुनु र समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने संवैधानिक बाध्यताका कारण समानुपातिकमा महिला सहभागिता छ । कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ४० सदस्यीय प्रदेश सभामा १६ महिला सांसद थिए ।
यसले के देखाउँछ भने नेतृत्व तहमा छिटुफुट उदाहरण भएपनि महिलाहरूको प्रतिनिधित्व निकै न्यून छ । यही अवस्थाविरुद्ध कर्णाली प्रदेशसभाका महिला सदस्यहरू एकजुट हुनुपर्ने निष्कर्शमा पुगेका छन् । जुनसुकै राजनीतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गरेको भएपनि नीतिगत नेतृत्वमा महिलाहरूको सहभागिता सुनिश्चित गर्नका लागि सबै एकमत भएर लाग्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक क्षेत्रमा क्रियाशील महिलाहरूको सामुहिक प्रयत्नले नेतृत्वमा समान सहभागिता सुनिश्चित गराउन पक्कै भूमिका निर्वाह गर्नेछ । त्यसका लागि सामुहिक पहल जरुरी छ ।
प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार १०:५८
सम्पादकीय ।