पेट्रोलियम पत्ता लगाउन ‘ड्रिलिङ’ सुरु
सुर्खेत: दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गर्न थालिएको छ । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न लागिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइतवार मुख्य ड्रिलिङ कार्यको उद्घाटन गरेका छन् । दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा ड्रिलिङ गर्न लागिएको हो । यसका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइएको छ । अबको चार महिनामा मुख्य ड्रिलिङले काम चल्ने छ । जसबाट यो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास छ÷छैन पुष्टि हुने जनाइएको छ ।
‘ड्रिलिङ’ पछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयको अन्तिम नतिजा आउने छ । पेट्रोलियम अन्वेषणअन्तर्गत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् । ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम गर्न र देशको अर्थतन्त्र सुधारका लागि परियोजना महŒवपूर्ण रहेको बताए । उनले उक्त परियोजना सफल बनाउन कुनै पनि कसुर बाँकी राख्न नहुने समेत बताए । ‘यदि यो परियोजना सफल भएमा कर्णालीबाट इन्धन समृद्धि सुरुवात हुनेछ,’ मन्त्री भण्डारीले भने, ‘यसका लागि मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नेपाल र चीनबीच सन् २०१६ मा भएको सम्झौताअनुसार चाइना एड अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्टअन्तर्गत नेपाल सरकारको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले ड्रिलिङ कार्य थालेको हो । भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे टोलीले खानी अन्वेषणका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । २० हजार २० वर्गकिलोमिटर क्षेत्रमा गरेको सर्भेका आधारमा ड्रिलिङ गरिने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए ।
२०४० सालमा सम्भाव्यता अध्ययन सुरु गरेको विभागले २०७२ सालदेखि उत्खनन्को तयारीलाई तीव्रता दिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) भएको थियो । सन् २०१७ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउँदा पेट्रोलियम तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सम्झौता भएको थियो । २०१९ फेब्रुअरी २८ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । अहिलेसम्म चिनियाँ टोलीले पेट्रोलियम पदार्थ भए नभएकोबारे यस क्षेत्रका १० वटा लाइनमा गरेको सर्भे रिपोर्ट सकारात्मक आएपछि आयोजनाको काम अघि बढाएको हो ।
जलजलेको पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला मिथेन ग्यास रहेको प्रमाणित भएको १३ वर्षपछि उत्खनन् तथा अन्वेषण हुन लागेको हो । मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी नतिजा आउने गरी काम गरिने परियोजना प्रमुख नापितले जानकारी दिए । उनका अनुसार चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराइमा अन्तिम अन्वेषणको काम गरिने छ । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजना स्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ । ‘अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्यास के हो त्यसको निक्र्यौल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुँगो लाग्छ,’ उनले भने । हाल परियोजना स्थलमा २१ चिनियाँ र ५० जना नेपाली प्राविधिकले २४सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।
अन्वेषणका लागि भैरवी–१ स्थित जलजलेमा ४५ रोपनी जमिन अधिग्रहण गरिएको छ । अन्वेषण क्षेत्रका २७ घरपरिवारलाई प्रतिरोपनी एक लाख ७५ हजार रूपैयाँका दरले मुआब्जा वितरण गरेर खानी तथा भूगर्भ विभागको नाममा लालपुर्जा आइसकेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सन् २०१९ देखि काम सुरु भए पनि कोभिड महामारीले दुई वर्ष काम रोकिएका कारण अन्वेषणमा ढिलाइ भएको परियोजना कार्यालयको भनाइ छ ।
प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार ११:००
साझा बिसौनी ।