समन्वयको अभाव

हचुवाका भरमा निर्णय गर्ने । योजना बनाउने । अन्तरसरकारी निकायहरूबीचमै आवश्यक छलफल र समन्वय नगर्ने । र, योजना कार्यान्वयनमा अघि बढ्ने प्रवृत्ति विगतदेखि नै देखिदै आएको छ । पछिल्लो पटक दैलेखमा पनि यस्तै भएको छ । कर्णाली प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा एउटा प्रयोजनका लागि बनाइएको भौतिक संरचना हटाएर त्यही ठाउँमा अर्को संरचना बनाइँदै छ । दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ स्थित सान्नतडामा बनेको हेलिप्याडको संरचना हटाउन लागिएको हो । उक्त ठाउँमा अहिले अस्पताल निर्माणको काम अघि बढेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारले हेलिप्याडका लागि संरचना निर्माण गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाढी, पहिरो, आगलागी, कटान, दुर्घटनाका सूचनाप्राप्त अनुसार खोज, उद्धार र राहत कार्यलाई सहजपुग्ने उद्देश्यले हेलिप्याड निर्माण ग¥यो । आठ लाख लागतमा डिभिजन वन कार्यालय दैलेखले संरचना निर्माण गरेको हो । तर त्यतिबेला प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेन । स्थानीय सरकारसँग समन्वय नगरी संरचना निर्माण गरिएको भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले बताए । त्यतिबेला स्थानीय सरकारसँग कुनैपनि समन्वय नै नगरी प्रदेश सरकारले हस्तक्षेपपूर्ण तरिकाले संरचना निर्माण गरेको उनको भनाइ छ । अन्य स्थानमा विकल्प खोज्न भनिएको भएपनि जबरजस्ती संरचना खडा गरिएको उनको आरोपसमेत छ । विनाअध्ययन स्थानीयको आवश्यकता विपरित संरचना निर्माण गरेकाले गाउँपालिकाले पुरानो संरचना हटाएर सोही स्थानमा अहिले नयाँ संरचना निर्माण गर्न लागेको जनाइएको छ । हेलिप्याड निर्माण गरिएको जग्गा गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि स्थानीय सरकारले आफ्नो नाममा बनाएको थियो ।

हेलिप्याड निर्माण गरिएकै स्थानमा आधारभूत अस्पताल निर्माण सुरु गरिएको छ । गाउँपालिकाले उक्त स्थानमा अस्पताल निर्माण सुरु गरेको हो । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल निर्माण’ गर्ने नीति अनुरूप अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भइ काम सुरु गरिएको छ । आर्थिक वर्ष २०७९÷२०८० देखि अस्पताल निर्माणको काम थालिएको हो । गत आर्थिक वर्षमा टेण्डर लगायतका काम गरिएको थियो । चालु आर्थिक वर्ष २०८०÷०८१ देखि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । यद्यपि स्थानीय र प्रदेश सरकारको समन्वयको अभावमा राज्यको सम्पत्तिको व्यापक दुरूपयोग भएको देखिन्छ । त्यसो त नागरिकलाई हेलिप्याड र अस्पताल दुवै आवश्यक पर्ने भएपनि दुई तहका सरकारको लडाईले बनाइएको संरचना हटाउन लागिएको छ भने नयाँ संरचना बन्दैछ । आवश्यक समन्वय नहुँदा लाखौँ रकममा बनेका संरचना हटाइँदैछ ।

प्रकाशित मितिः   १९ बैशाख २०८१, बुधबार १२:३०