उपकुलपतिमा गौतम

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले मंगलवार गौतमलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उनी त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक हुन् ।

विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गौतमसहित पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र देवबहादुर खड्कालाई सिफारिस गरेको थियो । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो । मेरिटोक्रेसीअनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दावी गरेको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबण्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए ।

प्रकाशित मितिः   १९ बैशाख २०८१, बुधबार १२:३२