एमालेभित्र अन्तरविरोध: शाहद्वारा शपथ बहिष्कार

मुख्यमन्त्रीमाथि एकलौटी निर्णय गरेको आरोप

 

सुर्खेत: रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले)का नेता विनोदकुमार शाहले मन्त्रीकोरूपमा शपथ लिन अस्वीकार गरेका छन् । एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए । तर शाहले मंगलवार शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका शाहले कँडेल नेतृत्वको सरकारमो भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय रोजेका थिए । तर मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालयको जिम्मेवारी शेरबहादुर बुढालाई सुम्पिए । धेरै बजेट हुने र महŒवपूर्ण मानिने मन्त्रालय नपाएपछि शाह शपथ ग्रहणमै उपस्थित भएनन् । कँडेलले छलफल नै नगरी एकलौटी निर्णय गरेकाका कारण शपथमा सहभागी नभएको उनले बताएका छन् ।

पार्टी केन्द्रको नीति र विधि विपरीत सरकार विस्तार गरिएको आरोप उनले लगाए । साथै आफूसँग कुनै सल्लाह नै नगरेर मन्त्री नियुक्त गरिएको शाहले जनाए । कँडेलले पार्टीको केन्द्रीय निर्णय नमानेर आफूखुसी सरकार विस्तार गरिएकाले शपथ कार्यक्रममा सहभागी नभएकोसमेत बताए । मुख्यमन्त्रीको कार्यशैली चित्तबुझ्दो नभएको र विना छलफल एक्कासी शपथको समय तोकिएकाले सहभागी हुन नसकेको शाहले जनाए ।

उनकाअनुसार पार्टीको केन्द्रीय नेतृत्वले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय शाहलाई दिन मुख्यमन्त्री कँडेललाई निर्देशन दिएको थियो । तर कँडेलले उक्त निर्णय नमानेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट बनेको जनाइएको छ । उनले पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री नियुक्त गरेको र शपथ ग्रहण गर्ने बेलासम्म कुन मन्त्रालय हो भन्ने कुरासमेत जानकारी नदिएको गुनासो गरेका छन् ।

पार्टी केन्द्रले लिस्टसहित यो मन्त्रालयमा यो मान्छेलाई पठाउनु भनेर निर्देशन नै दिएको जनाइएको छ । जसअनुसार शाहलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, शेरबहादुर बुढालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र दक्षिणा शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तर मुख्यमन्त्री कँडेलले केन्द्रको निर्देशन विपरीत मन्त्री बनाएको र वरियतामा ख्याल नगरेको शाहको भनाइ छ ।

शाहले शपथ ग्रहण बहिष्कार गरेपछि नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलभित्रको अन्तरविरोध चर्किएको चर्चा चल्न थालेको छ । कँडेल र शाहबीच विगतदेखि नै सुमधुर सम्बन्ध नभएको र आन्तरिक मनमुटाव रहेको चर्चा हुने गरेको थियो ।


पाँच मन्त्रीले लिए शपथ

 

यसैबीच शाहबाहेकका पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियारलाई नियुक्त गरेका छन् ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीमा शेरबहादुर बुढा र सोही मन्त्रालयको राज्यमन्त्रीमा गमता विक नियुक्त भएका छन् । कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका विनोदकुमार शाहले भने शपथ लिएका छैनन् ।

 

मुख्यमन्त्रीकै मातहत कानुन मन्त्रालय

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन् । कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उक्त मन्त्रालय एमालेको भागमा परेको मन्त्रालय हो । आवश्यक परे मन्त्री नियुक्त गर्ने नभए मन्त्रालय आफैसँग राख्ने मुख्यमन्त्री कँडेलले बताए ।

उनले भने, ‘यो मन्त्रालय एमालेको भागमा परेको मन्त्रालय हो, आवश्यक परे मन्त्री नियुक्त हुन्छ । अहिले मुख्यमन्त्री कार्यालय आफैले उक्त मन्त्रालय राख्छ ।’ कुनै विषयमा कुरा नमिलेर भन्दा पनि सरकार आफैले सञ्चालन गर्न सक्ने मन्त्रालय भएकाले आफैसँग राखिएको कँडेलले बताए । उनले थपे, ‘सरकारले आफूअनुकुलका कस्ता काम गर्न सकिन्छ भनेर सोच विचार गरिरहेको छ । मन्त्रीको संख्या बढाएर काम हुने, नभए नहुने भन्ने हुँदैन । सरकारले पूर्णता पाएसँगै अब सरकारको काम रफतारमा अघि बढ्छ ।’

प्रकाशित मितिः   १९ बैशाख २०८१, बुधबार १२:३८