आगामी योजना तर्जुमा

चालु आर्थिक वर्ष सकिँदैछ । नयाँ आर्थिक वर्ष नजिकिँदै छ । नयाँ आर्थिक वर्षका लागि तीनवटै तहका सरकारले नयाँ वार्षिक बजेट ल्याउँछन् । त्यसैको तयारीमा जुटिसकेका छन् । स्थानीय तहहरू नयाँ योजना, कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा जुटेका छन् । आर्थिक वर्ष २०८१÷०८२ का का लागि योजना र बजेट तर्जुमा गर्न लागिएको हो । आम नागरिकबाट सुझाव संकलन गरेर स्थानीय तहको योजना छनोट प्रक्रिया सुरु भएको छ । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले हरेक वडाका टोल–टोलमा योजना छनोट प्रक्रिया सुरु गरिसकेको छ । गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, नागरिकले दिएका सुझावका आधारमा योजना छनोट गर्नेगरी कार्ययोजना तयार पारिएको छ । वडाहरूमा कस्ता योजना आवश्यक छन्, कस्तो र कति रकमको योजना बनाउने भनेर टोल–टोलमा नागरिक भेलामार्फत् छलफल गर्ने गरिएको छ । नागरिकले विकास निर्माणका स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युतजस्ता योजनालाई प्राथमिकताका साथ उठाएका छन् । आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सवाल टोल भेलाबाट आएका छन् । लक्षितवर्ग विशेष कार्यक्रम समावेश गर्नुपर्ने मागसमेत आइरहेको छ । पश्चिम सुर्खेतकै चौकुने गाउँपालिकाले बस्ती स्तरबाट योजना छनोट गर्नका लागि एकीकृत योजना तयार पारेको छ । बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिनेगरी एकीकृत कार्ययोजना निर्माण गरिएको छ । यस्तै वीरेन्द्रनगर नगरपालिकाले पनि योजना छनोट प्रक्रिया थालेको छ । यसरी योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले सबैले स्थानीय आवश्यकतालाई पालिकासँग दर्शाउनका लागि बस्तीस्तरमा पुगेर योजना छनोट गर्न लागिएको हो ।

बस्तीस्तरबाट आएका योजना वडाबाट छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट तर्जुमा प्रक्रियामा लैजाने गरिन्छ । स्थानीय सरकार योजना तर्जुमामा जुटिसक्दासम्म पनि कर्णाली प्रदेश सरकारले भने अहिलेसम्म बजेटको सिलिङ पठाइसकेको छैन । संघ सरकारले बजेट सिलिङ पठाएको भएपनि प्रदेशले सिलिङ पठाउन ढिलाइ गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले भने स्थानीय तहको बजेट सिलिङ तयार पारिसकेको जनाएको छ । अबको केही दिनमा पत्र तयार गरेर पालिकामा बजेट सिलिङ पठाइने छ । मन्त्रालय मन्त्रीविहीन हुँदा काममा बाँधा पुगेको देखिन्छ ।

प्रकाशित मितिः   १७ बैशाख २०८१, सोमबार ०५:०३