कृषकलाई राहत

दैलेखको भैरवी गाउँपालिकाको वडा नं. ६ मा मंगलवार बँदेलको आक्रमणमा परेर सात जना घाइते भए । जंगलबाट गाउँ पसेको एउटै बँदेलले सात जनालाई आक्रमण गरेको हो । गत फागुन ३ गते पनि सोही वडाकी ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आएर आक्रमण गरेको थियो । बँदेलले आक्रमणमा परेर उनी घाइते भइन् । कर्णाली प्रदेश अस्पतालमा उपचार गरिए पनि उनी शारीरिकरूपमा अपाङ्ग हुन पुगिन् । यी केही उदाहरण हुन्, गाउँमा अहिले बँदेलको त्रास छ । बँदेलका कारण खाद्यन्न तथा अन्न बाली जोगाउनै धौ–धौ हुने र बर्सेनि अन्न बालिमा क्षति पुग्ने गरेको छ । पछिल्लो समय मानिसहरूमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरू बढेका छन् ।

जंगली जनावर बँदेलको आतंकले स्थानीय त्रसित बनेका छन् । दिउँसोमा नै बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । अर्कोतर्फ खेतबारीमा लगाएको अन्न बाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । जंगली जनावरकै कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको छ । यसैबीच जंगली जनावरले पारेको क्षतिको राहत दिने उद्देश्यले निर्देशिका जारी गरिएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएसँगै क्षतिपूर्तिको बाटो भने खुलेको छ । वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल बनाउन निर्देशिका जारी गरिएको हो । संघीय वन मन्त्रालयले निर्देशिका जारी गरेको हो । उक्त निर्देशिका बमोजिम प्रदेश सरकारले राहत वितरण गर्ने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । १६ वटा जनावरबाट मानवीय तथा अन्नबालीमा क्षति भएमा राहत दिने गरिएको छ । हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, चौरीगाई, अजिङ्गर नीलगाई, बाँदरले पु¥याएको क्षतिमा क्षतिपूर्तिको व्यवस्थापन गरिएको छ ।

जंगली जनावरले बाली क्षति गरेमा कृषकले क्षतिपूर्तिस्वरूप दश हजार रूपैयाँसम्म पाउने छन् । निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भएर जीवनभर शारीरिक रूपले अशक्त भएकालाई पनि राहतको व्यवस्था गरिएको छ । गम्भीर घाइतेलाई दुई लाख रूपैयाँसम्म दिइनेछ भने जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्था भएमा एकमुष्ट पाँच लाख रूपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको हो । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा एक सय ३६ जनाले राहत मागसमेत गरेका छन् । जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै क्षति भइसकेपछि राहत दिने प्रर्णालीलाई पनि सरल र प्रभावकारी बनाउन सके कृषकले लाभ लिन सक्नेछन् ।

प्रकाशित मितिः   १४ बैशाख २०८१, शुक्रबार ०५:०३