१६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

सुर्खेत: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४÷०७५ मा सञ्चालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई रु. दुई लाख २२ हजार पाँच सय तीन रूपैयाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले शाही, वली र बुढालाई सोही बिगो कायम गरी मागदाबी लिइएको घिमिरेले जानकारी दिए । यसैगरी उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध पनि सोही रकम मागदाबी लिइएको छ । चंखेली गाउँपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।

यसैगरी आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित नौ जनाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५ र ०७६ मा सिमखेतदेखि पादमघाटसम्मको सडक निर्माणमा गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बनाई बनेको ३८ लाख ७६ हजार दुई सय ७० रूपैयाँ बढी भुक्तानी गरी गैरकानुनी लाभ लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा गाउँपालिकाका तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव–इञ्जिनियर हरिप्रसाद पाण्डेय, वडा–२ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामी र लेखापाल मलिम रावत छन् ।

प्रकाशित मितिः   १४ बैशाख २०८१, शुक्रबार ०५:०२