विद्यार्थीको बसाइँसराइ

अहिले देशभर विद्यार्थी भर्ना अभियान चलिरहेको छ । यो अभियान वैशाख महिनाभर चल्ने जनाइएको छ । भर्ना अभियान चलिरहँदा ग्रामीण क्षेत्रका विद्यालयमा चहलपहल कम छ भने सहरी क्षेत्रका विद्यालयमा बढी देखिन्छ । पछिल्ला वर्षहरूमा बढ्दो बसाइसराइले गाउँका बस्ती रित्तिदै छन् । सँगसँगै विद्यालयका कक्षा कोठा पनि रित्तिदै गएका छन् । बसाइ“सराइको प्रभाव सँगसँगै विद्यार्थी र अभिभावकहरूको रोजाइमा पनि सहरका विद्यालय पर्न थालेका छन् । जसले गर्दा ग्रामीक्ष क्षेत्रका विद्यालयहरूमा बर्सेनि विद्यार्थी घटिरहेका छन् ।

दैलेखको दुल्लू नगरपालिका वडा नं. १० राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा पछिल्लो केही वर्षयता आधाभन्दा बढी विद्यार्थी घटेका छन् । कम्तिमा पनि दुईदेखि तीन सयको संख्यामा विद्यार्थी हुने विद्यालयमा अहिले मुस्किलले एक सय ५० जना विद्यार्थी पनि छैनन् । त्यसो त अहिले विद्यालयको भौतिक पूर्वाधारको अवस्था पहिलेको भन्दा सुधार भएको छ । विद्यालयमा भवन मात्रै होइन खानेपानी, शौचालय, पुस्तकालयजस्ता सुविधा पनि थपिएका छन् । विद्यालयमा पहिले भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे । अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । विगतमा विद्यार्थी धेरै हुँदा भुइँमा राखेर पढाउनुपर्ने बाध्यता थियो । अहिले भवन भव्य छ, विद्यार्थी खासै छैनन् । सामुदायिक विद्यालयमा भौतिक संरचना त बने तर विद्यालयमा विद्यार्थीको संख्या भने दिनदिनै घट्दै गएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–१० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि बर्सेनि विद्यार्थी संख्या घट्दो छ । २०३६ सालमा स्थापना भएको सो विद्यालयमा कुनै बेला विद्यार्थीको घुइँचो लाग्थ्यो । अहिले मुस्किलले एक सय ४० विद्यार्थी मात्र छन् ।

गाउँबाट सहरमा बसाइँसराइ र गाउँमा बेरोजगारीको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी सहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन् । गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घट्दो क्रममा रहेको देखिन्छ । गाउँ–गाउँमा दरबारजस्ता स्कुल बनेका छन् तर विद्यार्थी छैनन् । अभिभावकहरू छोराछोरी पढाउन भनेर सहर पसेका छन् । गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको छ । सहरी क्षेत्रमा पनि हरेक वर्ष विद्यार्थीको चाप बढेको छ । विद्यार्थी धेरै हुँदा कतिपय विद्यालयले निश्चित संख्या तोकेर विद्यार्थी भर्ना लिने गरेका छन् । यसले ग्रामीण क्षेत्रका विद्यालयहरूप्रतिको अविश्वास देखाउँछ । पूर्वाधारका साथसाथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सकेमा गाउँबाट बर्सेनि विद्यार्थी सहर पस्ने अवस्थालाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रकाशित मितिः   ९ बैशाख २०८१, आईतवार ०५:०३