भीमा गुरुङ मृत्यु प्रकरण: दश दिनदेखि अस्पतालमै शव

 

सुर्खेत: गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीया भीमा गुरुङको शव परिवारले बुझ्न मानेका छैनन् । शव १० दिनदेखि प्रदेश अस्पतालमै रहेको छ ।

उपचारको क्रममा दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया गुरुङको मृत्यु भएको थियो । घटनाको छानविन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक गुरुङको शव बुझ्न नमानेका हुन् । शव कर्णाली प्रदेश अस्पतालमा रहेको छ ।

भिमाका ससुरा धनबहादुर बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताए । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको उनको भनाइ छ । नातिनीको पालनपोषण र शिक्षा, स्वास्थ्यको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाही गर्नेलाई कारबाहीको माग गरिएको उनले जनाए । सरकारले लिखित रूपमा मागको सम्बोधन नगरेसम्म शव नबुझ्ने परिवारले जनाएको छ ।

भिमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारका लागि पु¥याउँदा कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो । सामान्य उपचारकै क्रममा ज्यान जानु डाक्टरको गम्भीर लापरबाही भएको भन्दै उनले छानविन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । सरकारले मौखिक रूपमा सहमति जनाए पनि लिखित रूपमा प्रक्रिया नचालेको परिवारको आरोप छ । शुक्रवार मुख्यमन्त्री यामलाल कँडेलसँग पीडित परिवारले क्षतिपूर्तिको मागसहित छलफल गरेका थिए । सरकारले पीडित पक्षसँग छलफल गरेको भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

गम्भीर रोगकै कारण भीमाको मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताएका छन् । उनका अनुसार उपचारका लागि आएकी महिलामा ‘मोलार प्रेग्नेन्सी’ भएको थियो । यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षणविना नै जोसुकै महिलाहरूमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौंमध्ये एक महिलामा यस प्रकारको समस्या हुने डा. खड्काको तर्क रहेको छ । मोलार प्रेग्नेन्सी एक प्रकारको सालको ट्यूमर भएकोले यसलाई सफा गर्नुपर्ने उनको भनाइ छ । संसारका जुनसुकै मुलुकमा पनि यस प्रकारको दुर्लभ समस्याको उपचार सम्भव नभएको डा. खड्काको दाबी छ । खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको जानकारी दिए ।

 

छानविन गर्न सांसदको माग

भीमा गुरुङको विषय प्रदेशसभामा समेत उठेको छ । कांग्रेस सांसद घनश्याम भण्डारीले गुरुङको मृत्यु घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आठौं बैठकमा बोल्दै भण्डारीले छिटोभन्दा छिटो शव उठाउने वातावरण सिर्जना गर्न सुझाव दिए ।

‘प्रदेश अस्पताललाई गौरवको रूपमा मानिए पनि त्यहाँ मृत्युका घटनाहरू भएका छन्,’ भण्डारीले भने, ‘त्यो मृत्यु डाक्टरहरूको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानविन गरेर अघि बढ्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद रणसिंह परियारले लामो समय भइसक्दा पनि भीमाको शव किन नउठेको भनी प्रश्न गरे । मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै उनले घटनाको विषयमा सरकार गम्भीर बन्नुपर्ने जनाएका छन् । ‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’ परियारले भने, ‘खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेशका जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट उठाउन परिवारले मानिरहेका छैनन् ।’

शव लामो समयसम्म अस्पतालमा राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठीरहेको नेकपा (एकीकृत समाजवादी)की सांसद कल्याणी खड्काले बताइन् । सत्यतथ्य छानविन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरेकी छन् ।

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पीडितले कानुनी उपचारको बाटो रोज्नुपर्ने बताए । नारा जुलुस गर्नुभन्दा कानुनी उपचारतर्फ लाग्नुपर्ने भन्दै उनले सरकारले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने जनाएका छन् । उनले भने, ‘दश–दश दिनसम्म प्रदेशकै ठूलो अस्पतालबाट शव नउठ्नु, सरकार गम्भीर नबनेको बुझिन्छ । छुट्टै छानबिन समिति बनाउनुपर्छ ।’

उक्त घटनामा नागरिक दबाब आवश्यक रहेको मानव अधिकारकर्मीहरूको भनाइ छ । महिला सशक्तीकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले लामो समयसम्म अस्पतालबाट शव नउठ्दा पनि सरकार बेखबर बनेको बताइन् । घटना भएको दश दिनसम्म छानविन समिति नबन्नु, सरकारले घटनालाई बेवास्ता गरेको देखिएको उनको भनाइ छ । उनले भनिन, ‘प्रदेश सरकारको आँगनमै यस्ता घटना हुँदा सरकार के हेरेर बसेको छ ? अस्पताल प्रशासन पनि गैरजिम्मेवार बनेको छ ।’

 

यस अघि पनि भएका थिए सोही प्रकृतिका घटना

२०७८ असोज २३ गते दैलेखको नारायण नगरपालिका– ४ की साढे दुई वर्षीया बालिका कुसुम कटुवालको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भयो । परिवारका सदस्यले कुसुमको सहज उपचार हुने आशासहित उपचारका लागि प्रदेश अस्पताल ल्याएका थिए । नाकमा मकैको दाना अड्किएर श्वासप्रश्वासमा समस्या भएपछि उनको उपचारका लागि अस्पताल ल्याइएको थियो ।

यस्तै, २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको मृत्यु भयो । उनलाई सुत्केरी व्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उनको मृत्यु भएको अस्पतालले घोषणा ग¥यो ।

प्रकाशित मितिः   ९ बैशाख २०८१, आईतवार ११:१२