गाउँका विद्यालय रित्तिदै, सहरमा भरिभराउ
सुर्खेत: १२ वर्षअघि खचाखच विद्यार्थी भएको दुल्लू नगरपालिका वडा नं. १० राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले एक सय ५० जना विद्यार्थी पनि छैनन् । वि.सं. २०४५ सालमा स्थापित विद्यालयमा पहिले भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे । अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको संख्या ह्वात्तै घटेको छ ।
‘पहिला दुई÷तीन सय विद्यार्थी हुँदा भुइँमा बसेर विद्यार्थीहरू पढ्थे । अहिले भवन भव्य छ, विद्यार्थी खासै छैनन्’ दुल्लू नगरपालिका वडा नं. १० निवासी सो विद्यालयका पूर्व विद्यार्थी रामबहादुर थापा भन्छन्, ‘मैले २०४८÷०४९ मा साँघुरो सानो भवनमा बसेर पढेको थिएँ । अहिले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता सुविधा छ तर ज्यामी काम गरेर भए पनि अभिभावकले छोराछोरीलाई सुर्खेत वा कोहलपुर सहरका राम्रा मानिने विद्यालयमा पढाउन थालेका छन् ।’
स्थानीय विद्यालयमा दुई घण्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यता भएकाले पनि विद्यार्थीहरू पढ्नकै लागि अभिभावकको साथमा सहरतिर धाउन थालेका छन् । कतिपय अभिभावकले छोराछोरी पढाउनकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन् ।
गाउँबाट सहरमा बसाइँसराइ र गाउँमा बेरोजगारीको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी सहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन् । गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घट्दो क्रममा रहेको इन्द्र्ज्वाला आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर रामजालीले बताए । शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास गरेको भएपनि गाउँमा बस्ने मानिसहरूको संख्या घट्दो भएकाले विद्यार्थी न्यून हुँदै गएको उनको भनाइ छ । उनी नियुक्त हुँदा २०६१ सालमा सो विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्म कूल तीन सय विद्यार्थी थिए, अहिले घटेर जम्मा एक सय ५० छन् । विगत तीन वर्षदेखि विद्यालय कक्षा आठसम्म सञ्चालनमा रहेको छ ।
सामुदायिक विद्यालयमा भौतिक संरचना त बने तर विद्यालयमा विद्यार्थीको संख्या भने दिनदिनै घट्दै गएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–१० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्दो छ । २०३६ सालमा स्थापना भएको सो विद्यालयमा कुनै बेला विद्यार्थीको घुइँचो लाग्थ्यो । २०६५ सालतिर तीन सय विद्यार्थी थिए । अहिले मुस्किलले एक सय ४० विद्यार्थी मात्र छन् । विद्यालयका प्रधानाध्यापक नरहरि पौडेलका अनुसार विद्यार्थी संख्या घट्नुमा बसाइँसराइ प्रमुख कारण हो ।
‘गाउँ–गाउँमा दरबारजस्ता स्कुल बनेका छन् तर विद्यार्थी छैनन्, गाउँमा स्कुल बनेका छन्, छोराछोरी पढाउन भनेर मानिसहरू सहर पसेका छन्’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य दुर्गा गिरी भन्छिन् । उनका अनुसार गाउँमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा सुविधा सम्पन्न विद्यालय खाली बन्दै गएका छन् । माध्यमिक तह सञ्चालन भएको अधिकांश विद्यालयमा एक सयदेखि एक सय ५० को बीचमा विद्यार्थी संख्या रहेको देखिन्छ । ‘एकातिर गाउँका विद्यालय खाली छन्, अर्कोतिर छोराछोरी पढाउनका लागि गाउँ छाडेर सहर पस्नेको संख्या बढ्दै जाँदा गाउँका जग्गा बाँझिने र गाउँ खाली हुने क्रम बढ्दो छ’ उनले भनिन् ।
गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालले बताए । ‘शिक्षकलाई आफ्नो पढाउने कलाप्रति आफैँलाई विश्वास छैन, आफ्ना छोराछोरी सहरका बोर्डिङ्गमा पढाउने, आफूचाहिँ सामुदायिक विद्यालयमा पढाउने, अनि उनीहरूको पढाइमा कसरी अरूले विश्वास गरून्,’ उनले भने । रिजालले पनि गुणस्तरीय शिक्षा दिन नसक्नु नै गाउँका विद्यालयमा विद्यार्थी थेग्न नसक्नुको कारण भएको जनाए । गुणस्तरीय शिक्षा दिने हो भने गाउँका बच्चा गाउँमा नै बस्ने र बाहिर गएका पनि गाउँकै विद्यालयमा फर्कने उनको भनाइ छ । ‘अब पूर्वाधारको अभाव छैन, शिक्षकको पनि अभाव छैन, गुणस्तरीय शिक्षाकै अभाव छ, शिक्षकको मिहिनेतको अभाव छ,’उनले भने ।
सहरका विद्यालयमा चाप थेग्नै मुस्किल
वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । विद्यालयमा विद्यार्थीको चाप बढेको जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनका अनुसार नयाँ शैक्षिक सत्रका लागि प्रारम्भिक बाल विकास, कक्षा ६, ७, ८ र ९ मा बाहिरका विद्यार्थीका लागि भर्ना खुल्ला गरिएको थियो । पाँच वटा कक्षाका लागि ६ सय विद्यार्थीका लागि भर्ना खुल्ला गरिएको भए पनि अहिले दुई हजार चार सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । श्रेष्ठले भने, ‘पाँच वटा कक्षामा ६ सय विद्यार्थीको आवेदन माग गरिएको हो, विद्यालयमा करिब दुई हजारभन्दा बढी विद्यार्थीको आवेदन आएको छ ।’
विद्यार्थीको चाप थेग्न मुस्किल भएको उनको भनाइ छ । प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘हामी बढीमा ६ सय जना नयाँ भर्ना लिन सक्छौँ, दुई हजार चार सयको आवेदन परेको छ । अहिले अभिभावकहरू आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भन्नुहुन्छ, थेग्न मुस्किल भएको छ ।’ भौतिक संरचना र जनशक्ति अभावले धेरै विद्यार्थी भर्ना गर्न समस्या हुने गरेको उनको भनाइ छ ।
अमरज्योति माध्यमिक विद्यालय नेवारेले प्रारम्भिक बाल विकासदेखि कक्षा नौसम्म नयाँ आवेदन माग गरेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यालयले राखेको लक्ष्य पूरा गराउन खोजिएको छ । ‘यस वर्ष पाँच सय थप विद्यार्थी भर्ना लिने लक्ष्य छ,’ उनले भने । करिब ६ सय जनाको आवेदन परेको छ ।
प्रकाशित मितिः ८ बैशाख २०८१, शनिबार ०५:०५
रजनी याेगी ।