आगलागीको जोखिम

पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको हो । दिनहुँजसो आगलागीका घटना बढेको प्रहरीले जनाएको छ । हिमाली जिल्लाहरूमा त केही समयअघिदेखि नै आगलागी हुन थालिसकेको थियो । हावाहुरीको मौसम सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा आगलागीका घटनामा वृद्धि भएका हुन् । कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ । चालु आर्थिक वर्षमा एक सय ६६ वटा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने १० जना गम्भिर घाइते छन् । आगलागीबाट ८७ वटा घर, ३६ वटा गोठ टहरा, दुई वटा उद्योग, दुई वटा सामुदायिक विद्यालय र एउटा सरकारी कार्यालयसमेत गरी एक सय २८ वटा भौतिक संरचनामा क्षति हुँदा अनुमानित एक अर्ब १२ करोड ६२ लाख आठ हजार चार सय दश रूपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

आइतवार वीरेन्द्रनगरस्थित ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भयो । दिउँसो करिब २ बजे आगलागी हुँदा ठूलो क्षति पुगेको छ । आगो नियन्त्रणमा लिनै दुई घण्टाभन्दा बढी समय लागेको थियो । बिहीवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा भएको आगलागीमा परेर तीन जना बालकको मृत्यु भयो । चैत महिनामा मात्र डोल्पामा आगलागीमा ६ जनाले ज्यान गुमाए । चैत २ गते कालीकोटको खाडाँचक्र नगरपालिका–५ स्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी बाबुछोरीको मृत्यु भएको थियो । बाख्रा चराउन गएको बेला आगलागीमा परी घाइते भएका बाबुछोरीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यसैगरी चैत १ गते बराहताल गाउँपालिका–२ का ५५ वर्षीया ऐनबहादुर रानाको आगलागीमा परेर मृत्यु भयो । दिउँसो करिब ३ बजे जंगलमा घास काट्दै गर्दा जलेर रानाको मृत्यु भएको हो । आगलागीमा परी गम्भिर घाइते रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

कर्णाली प्रदेशको राजनधानी भएको नगरपालिका पनि हो, वीरेन्द्रनगर । वीरेन्द्रनगरमा मध्यम खालका आगलागी दैनिकजसो नै भइरहेका हुन्छन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डीका कारण दमकल ढिलो पुग्ने गर्छ । यहाँ आगलागी नियन्त्रणमा खटिने दक्ष कर्मचारीको पनि अभाव छ । वीरेन्द्रनगरमा अग्नि नियन्त्रणमा खटिने पाँच जना कर्मचारी छन् । वीरेन्द्रनगरमा एउटा मात्र दमकल छ । वीरेन्द्रनगरमा ठूला आगलागी भएमा नियन्त्रण एकदमै कठिन हुने गरेको छ । आगलागीको जोखिम न्यूनीकरण गर्नका लागि सबै पालिकाहरूमा दमकलको व्यवस्थापन गर्नु अपरिहार्य भइसकेको छ ।

प्रकाशित मितिः   ४ बैशाख २०८१, मंगलवार ०५:०३