कर्णालीमा दैनिकजसो आगलागी

ठूलो धनजनको क्षति, पर्याप्त छैनन् दमकल

सुर्खेत: आइतवार वीरेन्द्रनगरस्थित ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भयो । आइतवार दिउँसो करिब २ बजे आगलागी हुँदा ठूलो क्षति पुगेको छ । आगो नियन्त्रणमा लिनै दुई घण्टाभन्दा बढी समय लागेको थियो ।

बिहीवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा भएको आगलागीमा परेर तीन जना बालकको मृत्यु भयो । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रवार मृत्यु भयो भने दुई जनाको उचारकाको क्रममा काठमाडौंमा शनिवार मृत्यु भएको हो । गाउँ नजिकै रहेको बनमा गुची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेका थिए ।

२७ चैतमा डोल्पाकै ठूलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा डढेलो निभाउने क्रममा तीन सैनिकको मृत्यु भयो । देवीदत्त गुल्मका तीनजना सैनिकको लागलागीमा परेर मृत्यु भएको हो । चैत महिनामा मात्र डोल्पामा आगलागीमा ६ जनाले ज्यान गुमाए ।

पछिल्लो एक÷डेढ महिनामै कर्णालीका विभिन्न जिल्लाहरूमा लगातारजसो आगलागीका घटना भइरहेका छन् । चैत २ गते कालीकोटको खाडाँचक्र नगरपालिका–५ स्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी बाबुछोरीको मृत्यु भएको थियो । बाख्रा चराउन गएको बेला आगलागीमा परी घाइते भएका बाबुछोरीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

यसैगरी चैत १ गते बराहताल गाउँपालिका–२ का ५५ वर्षीया ऐनबहादुर रानाको आगलागीमा परेर मृत्यु भयो । दिउँसो करिब ३ बजे जंगलमा घास काट्दै गर्दा जलेर रानाको मृत्यु भएको हो । आगलागीमा परी गम्भिर घाइते रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ । चालु आर्थिक वर्षमा एक सय ६६ वटा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने १० जना गम्भिर घाइते छन् । आगलागीबाट ८७ वटा घर, ३६ वटा गोठ टहरा, दुई वटा उद्योग, दुई वटा सामुदायिक विद्यालय र एउटा सरकारी कार्यालयसमेत गरी एक सय २८ वटा भौतिक संरचनामा क्षति हुँदा अनुमानित एक अर्ब १२ करोड ६२ लाख आठ हजार चार सय दश रूपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

कर्णालीमा आगलागीका घटनामा मानवीय क्षति धेरै हुने गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले बताए । कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगो छिटो फैलिने गरेको उनको भनाइ छ । उनले अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुँदा, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको जानकारी दिए ।

 

पर्याप्त छैनन् दमकल

आइतवार वीरेन्द्रनगरको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भयो । गोदाममा ठूलो मात्रामा भौतिक क्षति भएपनि मानवीय क्षति भने भएन । तर प्रदेश राजधानीको मुख्य बजार क्षेत्रमै भएको आगो नियन्त्रण गर्न हम्मेहम्मे प¥यो । करिब तीन घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको दमकल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिएका हुन् । दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइयो । तर, घरैघरै जोडिएको स्थानमा आगलागी भएकाले दमकल प्रयोग गर्न धेरै अप्ठेरो भयो । दमकल प्रयोग गरिँदा पनि आगो निभाउन निक्कै हम्मेहम्मे परेको थियो ।

कर्णाली प्रदेशको राजनधानी भएको नगरपालिका पनि हो, वीरेन्द्रनगर । वीरेन्द्रनगरमा मध्यम खालका आगलागी दैनिकजसो नै भइरहेका हुन्छन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डीका कारण दमकल ढिलो पुग्ने गर्छ । यहाँ आगलागी नियन्त्रणमा खटिने दक्ष कर्मचारीको पनि अभाव छ । वीरेन्द्रनगरमा अग्नि नियन्त्रणमा खटिने पाँच जना कर्मचारी छन् । वीरेन्द्रनगरमा एउटा मात्र दमकल छ । वीरेन्द्रनगरमा ठूला आगलागी भएमा नियन्त्रण एकदमै कठिन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले बताए । उनले भने, ‘ठूला आगलागी भयमुक्त बनाउने हो भने अत्याधुनिक प्रविधि जडित दुई÷तीन वटा दमकल आवश्यक देखिन्छ ।’

प्रकाशित मितिः   ३ बैशाख २०८१, सोमबार ०५:०५