मौरीपालनमा आकर्षण

कम लगानीमा नै व्यवसाय सुरु गरेर छोटो समयमा नै लाभ लिन सकिने भएपछि मौरीपालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेकाछन् । किसानहरूले व्यावसायिक रूपमा नै मौरीपालन सुरु गर्न थालेपछि सुर्खेतमा यो व्यवसाय फस्टाउन थालेको हो । राम्रो आम्दानी हुन थालेपछि जिल्लाका अधिकांश किसानहरू पछिल्लो समय खेतीपाती र अन्य व्यवसाय नै छोडेर मौरीपालनमा जुटेका छन् । किसानहरूले व्यावसायिक रूपमा सहकारी र समूहमार्फत् नै मौरी पाल्न थालेपछि हिजोआज किसानका घर मौरीका घारले भरिन थालेका छन् । यस्तै मौरी पाल्ने किसानको संख्या बढ्दै गएपछि जिल्लामा महको उत्पादन पनि बढेको छ । मौरीपालनमा किसानहरूको आकर्षण बढेसँगै महमा पनि जिल्ला आत्मनिर्भर बन्न थालेको छ ।

धेरै जग्गा नचाहिने, थोरै लगानी भए पनि पुग्ने । अन्य व्यवसायमा जस्तो धेरै मेहेनत पनि गर्नु नपर्ने, कम मेहेनतमै बढी आम्दानी गर्न सकिने भएपछि यहाँका किसानहरू मौरीपालन व्यवसायमा हौसिन थालेका हुन् । मह र घारको पनि माग दिन प्रतिदिन बढ्न थालेपछि बजारको सम्भावना पनि बढ्दै गएको छ । यही सम्भावनालाई बुझेका यहाँका किसानहरूले अहिले व्यावसायिक रूपमा नै मौरीपालन व्यवसाय सञ्चालन गरिरहेका छन् । सुर्खेत जिल्ला मौरीपालनका लागि उपयुक्त जिल्लामध्येको एक मानिन्छ । यहाँको जैविक विविधता, हावापानी र विभिन्न प्रजातिका फूलहरूको उपलब्धता मौरीपालनका लागि उपयुक्त भएकाले पनि मह उत्पादनमा किसानहरूले सफलता प्राप्त गरिरहेका छन् । जिल्लामा उत्पादित महको माग अन्य जिल्ला र अन्तर्राष्ट्रिय क्षेत्रमासमेत हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लामा मौरीपालन गर्ने किसानहरूको संख्यासमेत बढ्दो छ । व्यावसायिक मौरीपालनतर्फ किसानहरू आकर्षित भएका छन् । जीविकोपार्जनका लागि ४०÷५० हजार रूपैयाँ मात्रैको लगानीबाट मौरीपालन व्यवसाय सुरु गर्न सकिने व्यवसायीहरू बताउँछन् ।

सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा मौरीपाल व्यावसायिक बन्दै गएको छ । सुर्खेत, दैलेख, जाजरकोट र रुकुमपश्चिममा कृषकहरू बढ्दै छन् । चार जिल्लामा गरी तीन हजार पाँच सय बढी मौरीपालक कृषक छन् । यी जिल्लाहरूमा खोपेघार, मुडेघार र आधुनिक घारसहितका मौरीपालन हुने गरेको छ । अझ सकारात्मक पक्ष के छ भने युवा पुस्ताहरू यो व्यवसायमा आकर्षित हुँदैछन् । आधुनिक घारमा चार गुणासम्म उत्पादन बढाउन सकिन्छ । माहुरी पालनमा खासै धेरै समस्याहरू पनि छैनन् । त्यसैले पनि कृषकहरूका रोजाइमा परेको छ । सरकारले पनि मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न सकेमा मह उत्पादनसँग कृषकहरूको जीविकोपार्जन सुधारमा समेत सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   ३ बैशाख २०८१, सोमबार ०५:०३