भर्ना अभियान

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान सुरु गरेका छन् । विद्यालयहरू विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका हुन् । विद्यार्थी भर्ना वैशाख महिनाभर गरिने छ । विद्यालय सेवा क्षेत्रभित्रका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो । विभिन्न विद्यालय तथा स्थानीय पालिकाहरूले घरदैलो र भेलामार्फत् पनि अभियानलाई तीव्रता दिएका छन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले घरदैलो अभियान सुरु गरेको छ । आफ्ना सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरिएको छ । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने यस्तो गरिएको देखिन्छ । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि वडाअध्यक्षलगायतको टोलिले घरदैलो कार्यक्रम गरिरहेका छन् । घरदैलो अभियानका क्रममा धेरै बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । सामुदायिक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका विषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पारेका छन् । चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार पारेको छ । विद्यालयले वैशाख २ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्नाका लागि समय तोकेको छ । ८ गतेदेखि छिटफुट भएका बालबालिकालाई लक्षित गरी घरदैलो अभियान थालिने विद्यालयले जनाएको छ । पश्चिम सुर्खेतकै बराहताल गाउँपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । ‘समृद्ध विद्यालय, आदर्श विद्यार्थी, सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ पालिकाभरका विद्यालयमा एकैसाथ भर्ना अभियान गरिने जनाइएको छ । वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।

शिक्षा पाउनु हरेक नागरिकको मौलिक हक हो । तर विभिन्न कारणले सबै बालबालिका विद्यालय जाँदैनन् । अहिले पनि कर्णाली प्रदेशमा कैयन् बालबालिका विद्यालय बाहिर छन् । पढाइबाट वञ्चित छन् । विद्यालयमा नगएका बालबालिकाहरूलाई पढाईको पहुँचमा पु¥याउनका लागि भर्ना अभियान लाभदायक हुनसक्नेछ । यसका लागि सबै स्थानीय तह तथा विद्यालयहरूले घरदैलो अभियानदेखि अभिभावक भेटघाट लगायतका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २ बैशाख २०८१, आईतवार ०८:५५