मौरीमा मोह

 

 

सुर्खेत: पछिल्लो समय मौरी पालनमा कृषकहरूको संख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसायप्रति मोह बढ्दै गएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ गाग्रेतालका रामप्रसाद पोखरेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा मौरी पालन गर्दै आइरहेका छन् । ८२ वर्षीया रामप्रसादले १५ वर्ष पहिलेदेखि नै मौरी पाल्न थालेका हुन् । पहिला उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने आत्म विश्वास थिएन । तर पछिल्लो समय मौरी पालनबाट लोभलाग्दो आम्दानी गर्न थालेका छन् ।

उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक केही रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले मौरी पालनबाटै वार्षिक करिब पाँच लाख कमाउँछु,’ पोखरेलले भने, ‘महको माग बढ्दै गएको हुनाले घारहरू पनि थप्दै गएको छु ।’ उनले फुर्सदको केही समय मात्र मौरीलाई दिए पुग्ने बताए । पोखरेलको घरमा आहिले करिब ५४ भन्दा बढी आधुनिक घारमा मौरीहरू रहेका छन् । उनको व्यावसायिक मौरी पालन देखरे गाग्रेतालमा मौरी पालन गर्नेहरूको संख्या समेत बढिरहेको छ ।

वीरेन्द्रनगर–११ कै गोविन्द तिमल्सेनाले पनि मौरी पालन गर्दै आएका छन् । दश वर्ष पहिलेबाट व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका उनले प्रतिभा कृषि तथा पशुपक्षी फर्म दर्ता गरेका छन् । तिमल्सेनाले मौरी पालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनको वार्षिक आम्दानी पाँचदेखि ६ लाखसम्म हुन्छ । ‘बिहान बेलुका फुर्सदकै मेहनतले मौरी पाल्न सकिदो रहेछ’ उनले भने ‘मौरीबाट वार्षिक पाँचदेखि ६ लाखसम्म आम्दानी हुन्छ ।’

महसँगै मौरीका घार पनि बेच्ने गरेका छन । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरी पालन गर्न सकिन्छ’, उनले भने ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रदा रैछन् ।’ उनले आजभोलि गाउँठाउँमा घुम्दा सम्भावित ठाउँमा मौरी पालनका लागि अनुरोध गर्ने गरेको समेत बताए । उनका ४० वटा मौरीका आधुनिक घार छन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी सावित्री ढकाल दैनिकजसो मौरीको स्याहारमा व्यस्त हुन्छिन् । २०६५ सालमा चार वटा घारबाट मौरी पाल्न सुरु गरेकी उनलाई १५ वर्षको बिचमा व्यावसायिक मौरीपालक किसानको रूपमा सबैले चिन्न थालेका छन् । २०६६ सालतिर मौरीपालनसम्बन्धी तालिम लिएकी थिइन् । ‘मेरो मौरी पालनसम्बन्धी थुप्रै जिज्ञासाहरू थिए,’ उनले भनिन्, ‘जुन बेला मैले तालिममा सिकेको थिएँ, त्यही सिकाइ मार्फत् मौरीपालनमा लाग्ने योजना बनाएँ ।’

मौरी पालनबाट नै प्रशस्तै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, सावित्री । जति धेरै गर्न सकियो त्यति नै आम्दानी हुने उनको अनुभव छ । उनका एक सय ५० मौरीका आधुनिक घार छन् । वर्षमा १२ लाख बढीको मह उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले बताइन् । उत्पादनसँगै त्यसमा प्रशस्तै मेहनत र खर्च पनि हुने गरेको उनको भनाइ छ ।

मौरी घारमा पाल्ने र घारमै राख्ने भन्ने हुँदैन । मौरी किनेर घारमा राख्नासाथ मह दिन्छ, त्यसैबाट पैसा कमाउँला भन्ने सोच्यो भने त्यो बुझाइ गलत हुन जान्छ । मौरी पाल्ने किसानले फरक मौसम फरक समयअनुसार विभिन्न ठाउँमा लिने गर्छन् । ढकालले पनि एक वर्षको बीचमा धेरै ठाउँमा मौरी चराउनका लागि लिने गरेको बताइन् । सुरुमा मौरी पालनमा केही हुँदैन भन्ने मौरी पालक ढकाल अहिले मौरी चराउनका लागि परिवारको सहयोग त लिन्छिन् नै, अरु केही कर्मचारी राखेर समेत रोजगरी दिँदै आएकी छिन् ।

मौरीपालक कृषकहरू संगठित समेत भएका छन् । सुर्खेत, दैलेख, जाजरकोट र रुकुमपश्चिम कृषक संगठनमा आवद्ध भएका छन् । चार जिल्लामा गरी तीन हजार पाँच सय मौरीपालक कृषक रहेको संगठनका कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालले बताए । उनका अनुसार खोपेघार, मुडेघार र आधुनिक घार गरी चार जिल्लामा तीन हजार पाँच सय कृषक आवद्ध भएका छन् । पछिल्लो समय युवा पुस्ता मौरी पालनमा आकर्षित भएको ढकालले बताए । ‘आधुनिक घारमा चार गुणासम्म उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘माहुरी पालनमा खासै समस्याहरू पनि छैनन् ।’ ढकालले थपे, ‘अरू कृषि पेसाभन्दा मौरी पालनमा थोरै मेहनत पर्ने भएकोले किसानहरू यो पेसा पट्टि आकर्षित भएका छन् ।’

 

 

 

प्रकाशित मितिः   २ बैशाख २०८१, आईतवार ०८:५७