राष्ट्रिय भलिबल प्रतियोगितामा ६५ लाख खर्च

सुर्खेत: सुर्खेतमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्न ६५ लाखभन्दा बढी खर्च भएको छ । गत पुसमा नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा प्रतियोगिता सञ्चालन गरिएको हो । संघले उक्त प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेश भलिवल संघका अध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका व्यवस्थापक कृष्ण श्रेष्ठले ६५ लाख ७८ हजार तीन सय ८८ रूपैयाँ बराबरको खर्च भएको जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायबाट आर्थिक सहयोग संकलन गरिएको थियो । विभिन्न संघ–संस्था, व्यक्ति, स्थानीय र प्रदेश सरकारबाट गरेर ४६ लाख ९९ हजार आठ सय ७५ रूपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले जनस्तरबाट ठूलो सहयोग प्राप्त भएपनि राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दा आर्थिक समस्या भएको जनाए । चुनौतीकाबीच राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सफल भएको उनको भनाइ छ । उनले आगामी दिनमा स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर खर्च व्यवस्थापन गर्ने बताए । सुर्खेतमा लामो समयपछि राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रकाशित मितिः   २ बैशाख २०८१, आईतवार ०८:५४