विद्यार्थी खोज्न घरदैलो अभियान

सुर्खेत: सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान सुरु गरेका छन् । विद्यालयहरू विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका हुन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले मंगलवारदेखि घरदैलो अभियान सुरु गरेको छ । आफ्ना सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक जगतराज जोशीले बताए । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने गरिएको उनले जनाए । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि वडाअध्यक्षलगायतको टोलिले घरदैलो कार्यक्रम गरिरहेको प्रध्यानाध्यापक जोशीले जानकारी दिए । उनले भने, ‘विद्यालयले पहिलो पटक घरदैलो अभियान थालेको छ । अघिल्ला वर्षहरूमा भर्ना अभियानकै रूपमा सञ्चालन गर्न पाएनौँ । यो वर्ष अभियान सुरु गरेका र्छौं ।’

घरदैलो अभियानका क्रममा धेरै बालबालिका विद्यालय बाहिर रहेको पाइएको विद्यालयले जनाएको छ । कतिपय बालबालिका विद्यालय बाहिर रहेको भन्दै प्रध्यानाध्यापक जोशीले यसपटक घरदैलोमै पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय भर्ना गर्न अपिल गरिरहेको जानकारी दिए । विद्यालयले घरदैलो अभियान चैत ३० गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।

सामुदायिक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका विषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पारेका छन् । चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार पारेको छ । विद्यालयले वैशाख २ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्नाका लागि समय तोकेको छ । ८ गतेदेखि छिटफुट भएका बालबालिकालाई लक्षित गरी घरदैलो अभियान थालिने विद्यालयले जनाएको छ । निर्धारित पाठ्यक्रम पूरा गर्नु मात्रै विद्यालयको कर्तव्य नभएको विद्यालयका प्रध्यानाध्यापक लालबहादुर थापामगरले बताए । विद्यालयले शैक्षिक कार्यक्रम बनाउँदा व्यावहारिक पक्षलाई ध्यान दिएको उनको भनाइ छ । पहिला विद्यार्थी भर्ना र त्यसपछि घरदैलो अभियान गरिने प्रध्यानाध्यापक थापामगरले जानकारी दिए ।

शैक्षिक कार्यक्रम तयार गर्नुपूर्वको छलफलमा सहभागी अभिभावकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन समेत आग्रह गरेका छन् । पाठ्यक्रमको पढाइले मात्रै जीवनयापन गर्ने सीप विद्यार्थीले नसिक्ने भएकाले व्यवहारिक सिकाइलाई जोड्न उनीहरूले आग्रह गरेका हुन् । पश्चिम सुर्खेतकै बराहताल गाउँपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । ‘समृद्ध विद्यालय, आदर्श विद्यार्थी, सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ पालिकाभरका विद्यालयमा एकैसाथ भर्ना अभियान गरिने जनाइएको छ । वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायले बताइन् ।

यस्तै, लेकवेशी नगरपालिका सुर्खेतले वैशाख २ गतेदेखि ७ गतेसम्म पालिकाभरी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेछ । पालिकाका सबै स्थानमा एकैपटक भर्ना अभियान सुरु गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताए । उनले भने, ‘वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्न पालिकाका सबै विद्यालयलाई पत्राचार गरेका छौँ ।’

जिल्ला–जिल्लामा पुगे पाठ्यपुस्तक

अघिल्ला वर्षमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक हात पार्न नसक्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुमै पुस्तक प्राप्त गर्न सक्ने भएका छन् । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म पाँच लाख थान पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक गोदाममा ल्याइएको थियो । अब पाँच लाख थान पुस्तक मात्र गोदाममा रहेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए । उनका अनुसार जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक गइरहेका छन् ।

प्रकाशित मितिः   १ बैशाख २०८१, शनिबार ०५:०५