साहित्य उत्सवको सुगन्ध

 

 

आज उसले तलुवा काट्यो खराउ काट्यो
जमीन काट्न खोज्दै थियो पाउ काट्यो
छोरो जन्मिदा बाउले खसी काटेका थिए
आज को जन्मिएछ कुन्नि छोराले बाउ काट्यो ।

मन्दिरको मुर्ति दलालको आँखामा परेको छ
हेर्नुस् त भगवान पनि समस्यामा परेको छ
राजनीतिमा हस्तक्षेप यतिसम्म बढेर गयो कि
बलात्कारी पनि सहिदको कोटामा परेको छ ।

माथिका छुट्टाछुट्टै दुई गजलका सेरले मान्छेका मनमा भुइँचालो ल्याउँछ । ‘मनको भुइँचालो’ शीर्षक दिएर यो विषयमा लेखौं भने एउटा पुस्तक तयार हुन्छ । विद्वानहरूको कथन छ, पुस्तकका सयौं पानासम्म व्याख्या गर्न नपुग्ने गर्तका कुरा कविताका केही अंश, पंक्ति वा हरफले व्यक्त गरिरहेका हुन्छन् । हिन्दीमा एउटा चर्चित स्लोगन छ, ‘जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि ।’ कवि त्यति गहिराइमा पुग्छ र पो मोती टिपी ल्याउँछ । मोति टिप्नका लागि कविता भने कविता जस्तो हुनैपर्छ, मतलब कविताले भावना बोक्नुपर्छ, मर्म छुन सक्नुपर्छ ।

पछिल्ला दिनमा लगन, अध्ययन र चिन्तनविना रहर मात्रै बोक्नेहरूले साहित्यलाई पनि बर्बाद बनाउन थालेका छन् । मर्म र भावना जतासुकै जाउन् अक्षरमा जोडा मिलाउन पाए पुग्यो । आफूले आफ्नै बारेमा बढाइचढाइ गर्न पाए पुग्यो । कविताका नाममा अकविता र कथाका नाममा अकथाको बोलवाला बढ्दै गएकोप्रति साहित्यकार खगेन्द्र संग्रौला तितो पोख्छन्, साहित्यको थोरै गन्धसमेत तातोभुत्लो केही नभएको कपाली तमसुक भनिदिन्छन्, फगत अक्षरका थुप्रोलाई ।

मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतले यही चैत्र २७ र २८ गते कर्णाली साहित्य उत्सव गरेर अविस्मरणीय छाप छोडेको छ । गजल मञ्चले यसो गर्नुपथ्र्यो र त्यसो गर्नु हुँदैनथ्यो भन्ने ढंगले आलोचना मात्रै गर्ने हो भने त भेटिएलान् केही कमजोरी पनि, नत्र भने उम्दा काम भएको छ ।

पहिलो कुरा त यहाँ साहित्य कर्मका लागि उत्सव नै ठूलो कुरा हो । बेलाबेला विभिन्न क्षेत्र र फाँटका उत्सव–महोत्सव भइरहँदा साहित्यको फाँट ओझेलमा परेको पो हो कि भन्ने भान भइरहन्थ्यो । फेरि अर्को कुरा के भने यो बौद्धिक वर्गसँग जोडिने भएकोले महत्व पनि अलि पृथक रहने नै भयो । भनाइको मतलब राम रमाइलो जहाँतहाँ यस्ता कार्यक्रम त्यति खुल्दैनन्, उघ्रदैंनन् ।

दोस्रो कुरा, जिल्ला र क्षेत्र बाहिर पूर्वदेखि पश्चिमसम्मका साहित्यकारहरू उतार्नु पनि सानो कुरा होइन । यसले साहित्यिक भावनामा आत्मियता जोड्ने काम गर्छ । तेस्रो कुरा, कविता र गजल वाचन गराएर काव्य प्रतिभालाई अरु निखार्न खोज्नु पनि सुखद क्षण हो । मुख्य अतिथि र विशिस्ट अतिथिलाई काव्यरस पिलाएर दिनभर मन्त्रमुग्ध बनाइदिनु पनि एक अनुपम उदाहरण हो । साहित्य सेसन चलाएर साहित्यकार बीचमा बहस, छलफल र विचार विमर्श गराएबाट कर्णालीको साहित्य लेखनीको विषय पनि गजबले उठेको थियो ।

लेखनीको चर्चा चल्दा मनमा एउटा ठोस भावना के आयो भने, आफूले लेखेको कृति शिक्षितले हेरिदिउँन्, विद्वानहरूले पढिदिउन् र प्राज्ञहरूले मनन् गरिदिउन् भन्ने चाह राख्ने हो भने किताब प्रकाशन गर्नु निकै मुस्किल काम हो । लेख्नका लागि पढ्न पर्छ नै पर्छ । होइन, पैसा छँदैछ एकबारको जुनिमा रहर पूरा गरौँ भन्ने ढंगले पाना भरेर किताब लेखी पाठक झुक्याउने हो भने कसैको केही लाग्दैन । तर पाठकले छुट्याइरहेको हुन्छ नुनिलो–अलिनोको र खस्रो–मसिनोको भिन्नता । तर विडम्बना के भने साहित्य बजारलाई यसले झन ओरालो पारेर अधोगतिमा लगेको छ ।

आजभोलि समय परिवेश बदलिएको छ, सामाजिक सञ्जालका कारण पठन र लेखन शैली पनि बदलिएको छ । किताब मात्र होइन अखबार पनि पहिलाजस्तो बिक्री हुँदैनन् किनकि थोरै पैसाले नेटमा धेरै कुरा पढ्न पाइने सुविधा आएको छ । देशका चर्चित प्रकाशन गृहहरूले प्रकाशन गरेका किताबहरू पनि बिक्रीमा मन्दी आएकोले लेखकलाई लेखकश्व बापत किताब नै दिन थालिएको छ । यस्तो अवस्थामा कसैले निजी स्रोतबाट छापेको किताब हजार÷दुई हजार प्रति बिक्यो भनेर डिङ हाक्नु हास्यास्पद मात्रै हो । झुठको निम्तो खाइ पत्याउनु भने झैं ।

हो, आफ्नो अथक परिश्रमबाट महावीर पुनको किताब हजारौं प्रति बिक्री भयो । त्यसको पनि कारण छ । पुन नेपालका एक चर्चित वैज्ञानिक भएर मात्रै होइन, आफ्नो आविष्कार केन्द्रका लागि आर्थिक जुटाउन उनी किताब बिक्री गर्ने अभियानमा पनि लागेका हुनाले उल्लेखनीय बिक्री हुन गएको कुरामा शंका छैन । यसमा पाठकले कृति प्राप्त गर्नु भन्दा आविष्कार केन्द्रलाई योगदान दिनु ठूलो कुरा हुन्छ । जीवनीलाई साहित्य मान्ने कि नमान्ने भन्ने बहस पनि छँदैछ, त्यसो त लेखनीमै भर पर्ने कुरा पनि होला ।

गजल मञ्चको हरेक साहित्यिक गतिविधिमा सम्झना राखेर धिरेन अनुपमले बोलाईरहने गरेता पनि व्यवहारिक उल्झनले अनुकूल परिरहेको थिएन । तर यो पटक अवसर छोप्नु नै थियो । त्यसकारण बेफुर्सदलाई देखा जाएगा भनेर गजल मञ्चको कार्यक्रममा मिसिन पुगियो । मेरो जाँगर ज्यादा आख्यानतिर दौडिने भए पनि गजल र कविताको गुरुत्वले यसरी तान्यो कि दुईदिन हाजिरमा गयल पर्नु परेन । मञ्चमा कर्णप्रिय गजल वाचन भए । मिठा कविता पनि वाचन भए । मन तानेर एकाग्र बनाउने समय बितेको थाह पत्तै नदिने । गजल कविताका भावसँग उद्वेलित हुने मनहरूमा, जब कोही मन्तव्य राख्न पोडियममा उभिनु थाल्यो भने छट्पटी सुरु हुने देखियो । आपसमा गफिन खोज्ने र मन्तव्यसँग झिँजिएको पनि प्रष्ट बुझियो । आजभोलि मन अघाएर हो कि दुखेर हो मान्छेले मन्तव्यलाई पनि भाषण नै हो भन्ने भाष्य बनाउन थालेका छन् । भाषणसँग मान्छे यति दिकदार छन् कि तिनका नाकमा हसक्क कोही नेता नै गनाउन थाल्छ ।

कार्यक्रमलाई रौनकता दिन केही नृत्य पनि थिए, बरु तिनले छुट्टै उत्साह थपेको थिए । कार्यक्रम यसरी बगेको थियोे कि दुई दिनसम्म पट्यार लाग्दो अवस्था सित्ती आउन पाएन ।

साहित्यको भेग ठूलो छ, सबै क्षेत्र समेट्न पनि सम्भावना छैन । लेखनी र प्रकाशित कृतिहरूको चर्चा गर्नुपर्दा भेग ठूलो हुन्छ भन्दैमा छापिएर प्रकाशन हुने सबै किताब के साहित्य नै हुन त ? साहित्यको परिधी छ भनी मान्ने हो भने प्रतीक, बिम्ब–प्रतिबिम्ब, भाव भावना, व्यँग्य, लक्षणा–व्यञ्जनाको गेडो थोपो नभएका गैरसाहित्य र बचकना साहित्य एकै ठाउँमा मिसिएर भद्रगोल भैरहेको छ । यसलाई दूधको दूध पानीको पानी छुट्याउने निकाय त सायद छैन । साहित्य क्षेत्रमा स्थापित भएर लोकप्रियताको सिंढी उक्लिरहेको गजल मञ्चले कथा कविताबाट अकथा र अकविता निफन्ने आँट पनि गर्दै जानुपर्छ कि भन्ने लाग्छ, किनकि यसले संस्थाको क्षमता र गरिमा पनि उचाल्दै लैजान्छ ।

रोपेको छोटो समयमै हलक्क बढेको गजल मञ्चलाई मलजल गरेर तिखार्न निखार्न लागि परेका डा. महेन्द्र कुमार मल्ल, धिरेन्द्र अनुपम र पहल असिम लगायतको आयोजक टिमले सुर्खेतमा भव्य कार्यक्रम सफल पारेको छ । साहित्य कर्मसँग आफू पनि थोरै जोडिने भएकोले केही खुसी हाम्रो भागमा पनि पर्न आएको अनुभूत भएको छ । यो मीठो अवसरका लागि आयोजकलाई साधुवाद छ । साहित्यमा योगदान पु¥याउने पात्रहरूको कदर भएको छ, यसले निरन्तरता पाइरहने अपेक्षा राखिन्छ । पुनित साहित्य कर्ममा अथक जाँगर चलिरहोस् नव वर्ष २०८१ को मंगलमय हार्दिक शुभकामना !

प्रकाशित मितिः   १ बैशाख २०८१, शनिबार ०५:०४