साँघुरा सडकको सकस

यसअघि दुई चरणको अध्ययनमार्फत् दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाइ गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको छ । सोहीबमोजिम जलजलेमा काम भइरहेको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने छ ।

दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा उत्खनन्का लागि अन्तिम ड्रिलिङ सर्वेका लागि धमाधम मेसिन ल्याउने काम भइरहेको छ । अहिलेसम्म सानाठूला गरी ८४ वटा ट्रक मेसिन दैलेखमा पुगेका हुन् । पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि एक सय ५० वटा ट्रक जलजलेमा पुग्नेछन् । हालसम्म सानाठूला गरी ८४ वटा ट्रक जलजलेमा पुगेको र ६६ ट्रक अबको एक÷दुई हप्तामा आइपुग्ने जनाइएको छ । अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्मको रुट प्रयोग गरिएको छ । अहिले अघिअघि मेसिन र पछिपछि ठूला ट्रक गरेर सामान ल्याउने गरिएको छ । थप सात वटा १२ चक्के ठूला ट्रक मंगलवार नेपालगञ्जबाट हिँडेसकेका छन् ।

मेसिन राख्नका लागि पूर्वाधार निर्माणको काम सकिएको छ । क्याम्प निर्माण, कार्यालय भवन निर्माण, घेरवार, सुरक्षा निकायका लागि बस्ने भवन निर्माणलगायतका काम सकिएको छ । सबै मेसिनको सामान दैलेख पुगे मात्र ‘ड्रिलिङ’ को काम सुरु हुने छ । अहिले आयोजना स्थलसम्म पुग्नेगरी विद्युत विस्तारको काम भइरहेको छ । वैशाखको दोस्रो हप्ताबाट अन्वेषणको काम सुरु गरिने आयोजनाले जनाएको छ । तर सडक साघुरो हुँदा ठूला ट्रकहरू अन्वेषणस्थल जलजले पुग्न समस्या हुने गरेको छ । अहिलेसम्म दश वटा ठूला ट्रक जलजलेमा पुगेका छन् । ठूला ३० वटा ट्रक जलजले पुग्नेछन् । तीमध्ये सातवटा ट्रक बाटोमा छन् । रत्न राजमार्ग हुँदै भित्रिएका ट्रक कर्णाली र मध्यपहाडी राजमार्गको रुट प्रयोग गर्ने गरिएको जनाए । जबकि यो सुर्खेत–दैलेख सडक खण्डभन्दा दोब्बर बढी लामो दुरी हो । दैलेख–सुर्खेत (६७ किमी) सडक अति साघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको सांगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मितिः   ३० चैत्र २०८०, शुक्रबार ०५:०३