तरिका बदल्ने प्रतिबद्धता
सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले सरकार सञ्चालनमा विगतको तरिका बदल्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री भएपछि बिहीवार पहिलो पटक प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले अवस्था बदल्नका लागि सरकारको काम गर्ने तरिका पनि बदल्नुपर्ने बताए ।
मुख्यमन्त्री कँडेलले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र नयाँ तरिकाबाट काम अघि बढाउने जनाए । ‘हिजोका जो–कोहीले गरेका राम्रा कुराको निरन्तरता हुनेछ, संरक्षण गरिनेछ, पैरवी गरिनेछ’ उनले भने, ‘कतिपय कुराहरू सच्याउनुपर्ने रहेछ भने, सदनलाई जानकारी गराएर सबैको सल्लाहमुताविक परिवर्तन गर्ने कुरामा पनि अगाडि बढ्नुपर्छ भन्ने मलाई लागिरहेको छ ।’
कर्णालीलाई जति हुनुपर्ने हो त्यति साधन र स्रोत भएपनि जति उपलब्ध छ त्यसलाई उपयोग गर्नुपर्नेमा कँडेलले जोड दिए । समयमै सदुपयोग गर्न नसक्दा फालफालजस्तो देखिने अवस्थालाई बदल्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए । त्यसका लागि विगतका कतिपय नितीहरूमा पुनर्विचार र सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनको जिकिर छ । ‘कर्णालीबासीको अपेक्षाअनुसार जनप्रतिनिधिले जनाताप्रतिको न्यूनतम् जिम्मेवारी पूरा गर्ने हो भने हामीले आजसम्म अबलम्वन गरेका कतिपय नीति र कार्यक्रम परिमार्जन गरेर जाँदा नयाँपन दिन सक्छौँ’ कँडेलले भने । यसो गर्न सके प्रदेश विकासको गतिमा पनि सुधार हुने उनको तर्क छ ।
प्रदेश सरकारलाई प्रभावकारी बनाउने योजना छनोट गर्नेदेखि बजेट विनियोजन र वितरण गर्ने तरिकामा निर्ममतापूर्वक समीक्षा र परिमार्जन गरेमा मात्रै नयाँ परिस्थितिको निर्माण हुने समेत जनाए । कर्णालीको विकास र समृद्धिका लागि जनप्रतिनिधि सँगसँगै निजामति कर्मचारीको भूमिका पनि उत्तिकै महŒवपूर्ण हुने कँडेलले बताए । त्यसका लागि अनुकूल वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ ।
प्रकाशित मितिः ३० चैत्र २०८०, शुक्रबार ०५:०१
साझा बिसौनी ।