पुस्तक वितरणमा ढिलाइ
कर्णाली प्रदेशमा विगतका वर्षहरूमा पाठ्यपुस्तक अपुग हुने गरेको थियो । वार्षिक परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ । पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले पाठ्यपुस्तक वितरण सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको हो । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालयले जनाएको छ । गोदामबाट जिल्ला–जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिएको छ ।
जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । अहिले तालिका अनुसार नभइ जिल्ला–जिल्लाका पुस्तक बिक्रेताले गरेको मागअनुसार पुस्तक वितरण भइरहेको जनाइएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुँने कार्यालयको दाबी छ । भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । यद्यपि, अहिलेसम्म सबै जिल्लामा पुस्तक पुगिसकेको छैन । जनक शिक्षा सामग्री केन्द्रले जिल्ला–जिल्लाका लागि पुस्तक वितरण तालिका समेत सार्वजनिक गरेको भएपनि सोही अनुसार पुस्तक वितरण हुन सकेको छैन । हिमाली जिल्लालाई प्राथमिकतामा राखेर तालिका बनाइएको थियो । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लाका दुई वटा मात्र स्थानीय तहले पुस्तक लिएका छन् । दुई पालिकामा गरी ६ सय सेट पुस्तक मात्र हुम्ला जिल्लामा पुगेको छ । अहिलेसम्म मुगुमा पुस्तक गएको छैन । हालसम्म दैलेखमा तीन पुस्तक बिक्रेतामार्फत् दुई हजार तीन सय सेट, सुर्खेतमा दुई पुस्तक बिक्रेतामार्फत् एक हजार एक सय सेट, कालीकोटमा एक हजार सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा दुई पुस्तक बिक्रेतामार्फत् ६ सय सेट पुस्तक मात्र पुगेको छ । अहिलेसम्म करिब ६ हजार दुई सय सेट मात्र पाठ्यपुस्तक जिल्ला–जिल्लामा पुगेको छ ।
सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पु¥याउने गरिएको छ । ढुवानी, व्यवसायी र विद्यालयका बीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन ठूलो संघर्ष गर्नुपर्छ । यो झन्झटिलो प्रक्रियाले भने विद्यार्थीको हातमा समयमै पुस्तक पुग्न सकिरहेको छैन । गोदाममा रहेका पुस्तकको वितरण प्रक्रियालाई पनि व्यवस्थित र छरितो बनाउनेतर्फ ध्यान दिन जरुरी देखिएको छ ।
प्रकाशित मितिः २० चैत्र २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।