कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने

गोदाममा पर्याप्त पुस्तक, वितरणमा भने ढिलाइ

सुर्खेत: कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुने गरेको छ । विगतका वर्षहरूमा परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ ।

पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले पाठ्यपुस्तक वितरण सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको हो । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए । उनका अनुसार जिल्ला–जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिएको छ ।

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतमा पुस्तक वितरण गरिनेछ । अहिले तालिका अनुसार नभइ जिल्ला–जिल्लाका पुस्तक बिक्रेताले गरेको मागअनुसार पुस्तक वितरण भइरहेको जनाइएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुँने कार्यालयको दाबी छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख पन्त बताउँछन् । ‘यो वर्ष दश लाख थान पाठ्यपुस्तक गोदाम आइपुगेको छ । मागअनुसार सबै कक्षाको पुस्तक हामीले गोदाममा ल्याएका छौँ । पालोअनुसार दुर्गम जिल्लाबाट वितरण गर्दै आएका छौँ,’ उनले भने ।

भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । तर, पनि अहिलेसम्म सबै जिल्लामा पुस्तक पुगिसकेको छैन । जनक शिक्षा सामग्री केन्द्रले जिल्ला–जिल्लाका लागि पुस्तक वितरण तालिका समेत सार्वजनिक गरेको भएपनि सोही अनुसार पुस्तक वितरण हुन सकेको छैन । हिमाली जिल्लालाई प्राथमिकतामा राखेर तालिका बनाइएको थियो । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लाका दुई वटा मात्र स्थानीय तहले पुस्तक लिएका छन् । दुई पालिकामा गरी ६ सय सेट पुस्तक मात्र हुम्ला जिल्लामा पुगेको छ । अहिलेसम्म मुगुमा पुस्तक गएको छैन । हालसम्म दैलेखमा तीन पुस्तक बिक्रेतामार्फत् दुई हजार तीन सय सेट, सुर्खेतमा दुई पुस्तक बिक्रेतामार्फत् एक हजार एक सय सेट, कालीकोटमा एक हजार सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा दुई पुस्तक बिक्रेतामार्फत् ६ सय सेट पुस्तक मात्र पुगेको छ । अहिलेसम्म करिब ६ हजार दुई सय सेट मात्र पाठ्यपुस्तक जिल्ला–जिल्लामा पुगेको छ ।

गोदाममा पर्याप्त किताब भएपनि बिक्रेता किताब लिन नआएको कार्यालय प्रमुख पन्त बताउँछन् । उनले भने, ‘गोदाममा किताब पर्याप्त छ । समयमै बिक्रेता लिन आउँदैनन्, तालिका बमोजिम पुस्तक वितरण हुनसकेको छैन ।’

 

झन्झटिलो प्रक्रिया

सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पु¥याउने गरिएको छ । ढुवानी, व्यवसायी र विद्यालयका बीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन ठूलो संघर्ष गर्नुपर्छ । यो झन्झटिलो प्रक्रियालाई हटाएर कुपन सिस्टम सञ्चालन गर्नुपर्ने शिक्षाका जानकारहरू बताउँछन् । डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले झन्झटिलो प्रक्रियाका कारण पाठ्यपुस्तक बालबालिकाको हातहातमा पुग्न ढिलाइ हुनेगरेको बताए । ‘नयाँ संरचना अनुसार किताबको आर्थिक निकासा गर्ने अधिकार स्थानीय निकायतिर सरेको छ । स्कूलले किताब किन्ने र स्थानीय निकायले पैसा दिने नयाँ व्यवस्था रहेको छ । स्थानीय निकायले किताबका लागि रकम निकासा गरिसकेका छैनन्,’ उनले भने ।
डोल्पाका चार वटा स्थानीय तहले फागुनदेखि नै नयाँ शैक्षिक सत्र आरम्भ गरेको भन्दै उनले जिल्लामा फरक–फरक समयमा शैक्षिक सत्र सुरु हुने गरेको बताए । जसले गर्दा बालबालिकाको सिकाइ प्रभावकारी नहुने, पाठ्यपुस्तक समयमा नै नपुग्ने समस्या रहेको उनको भनाइ छ ।

गोदाममा पुस्तक आइसकेको भएपनि जिल्ला–जिल्लामा पुस्तक पुग्न ढिलाइ भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले स्थानीय निकायले किताबका लागि रकम निकासमाा ढिलाइ गर्दा बिक्रेताले किताब समयमा नै ल्याइनपू¥याउने गरेको बताए । उनका अनुसार मुगुमा पाठ्यपुस्त अहिलेसम्म पुगेको छैन ।

प्रकाशित मितिः   १९ चैत्र २०८०, सोमबार ०५:०५