मोड सुधार गर

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ल्याइएका ‘ड्रिलिङ’ मेसिन बोकेका ट्रक बाटोमै रोकिएका छन् । कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका वडा नं. ७ को स्याउलेमा ट्रक बाटोमै रोकिएका हुन् । कडा चट्टान र साँघुरो मोड भएका कारण ट्रक अघि बढाउन सकस भएको हो । शुक्रवार मात्र नेपालगञ्जबाट तीन वटा ‘ड्रिलिङ’ मेसिन बोकेका ट्रक सुर्खेत आइपुगेका थिए । नेपालगञ्जदेखि सुर्खेतसम्म सहज रूपमा मेसिन ल्याइएको भएपनि कर्णाली राजमार्गमा साँघुरो मोडका कारण ट्रक रोकिएको हो । परीक्षणका लागि तीन वटा मेसिन बोकेका ट्रक पहिलो चरणमा ल्याइएको हो ।

गत फागुन २२ गतेदेखि नेपालगञ्जको रूपैडिया नाकामा थन्किएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ मेसिनको सामान नेपालगञ्जको भन्सार कार्यालयमा राखिएको छ । मेसिन बोकेका ७० वटा ट्रक आएका छन् । एक महिना लगाएर भारतको कोलकाता बन्दरगाह हुँदै सामान रूपैडिया आइपुगेका थिए । तर सिमानामा समस्याका कारण नाकामै रोकिएका थिए । अहिले अर्को बाधा उत्पन्न भएको छ । चीनबाट कोलकाता बन्दरगाह आउन ट्रकलाई एक महिनाको समय लागेको थियो । सबै मेसिन दैलेख पु¥याउन अझै एक महिनाको समय लाग्ने देखिएको छ । मेसिन भित्र्याउनकै लागि भनेर बाटो सुधार समेत गरिएको छ । तर सुधार गरिएको बाटोमा पनि मोड साँघुरा भएका छन् । अझै दैलेखका ११÷१२ ठाउँमा मोड फराकिलो बनाउनुपर्ने देखिएको छ । यसअघि १७ स्थानमा मोड सुधार गरिएको थियो । अन्वेषण आयोजनाले गरेको सर्वे अनुसार नै सडक फराकिलो पारिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । तर अन्वेषण आयोजनाको त्रुटिका कारण मोड सुधारको काम प्रभावकारी नभएको देखिन्छ । आयोजनाले प्राविधिक अध्ययन गरेको जनाएपनि पुनः परिक्षण गरेको थिएन ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा मेसिन राख्नका लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७५ प्रतिशत काम सकिएको छ । क्याम्प निर्माण, मेसिन ल्याएर राख्ने ठाउँ सम्म्याउने, बाटो निर्माण लगायतका काम धमाधम भइरहेको हो । पूर्वाधार निर्माणको करिब ७५ प्रतिशत काम सकिएको छ भने अब मेसिनरी काम मात्रै बाँकी छ । मेसिनको सामान दैलेख पुगे मात्र ‘ड्रिलिङ’ को काम सुरु हुनेछ । मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब चार दशमलव पाँच किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिने योजना छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।

प्रकाशित मितिः   १९ चैत्र २०८०, सोमबार ०५:०३