मदन भण्डारी राजमार्ग: ट्रयाक परिवर्तन नगर्न ध्यानाकर्षण

राजमार्गअन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डीपीआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत् सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको छ ।

सुर्खेत:  मदन भण्डारी राजमार्गको ट्रयाक परिवर्तन गर्न खोजिएको भन्दै पश्चिम सुर्खेतका नागरिकले विरोध जनाएका छन् । राजमार्गअन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डीपीआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत् सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको छ ।

चौकुने गाउँपालिका वडा नं. १ को लगामबाट धनरास–धामिसैन–बेनीघाट खण्डलाई नै सुनिश्चित गर्न माग गरिएको छ । कार्यान्वयनका लागि अघि बढीसकेको आयोजनाको रुट परिवर्तन गर्न खोज्नु अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ । राजमार्गको डीपीआरसहित नापजाँच भइसक्दा रुट परिवर्तन गर्न खोजिएको नेकपा (एमाले) सुर्खेतका जिल्ला कमिटी सदस्य एवम् चौकुने गाउँपालिका वडा नं. १ का कमल कठायतले बताए । पश्चिमका नागरिकको भविष्य र भाग्य रेखा कोरिएको राजमार्गको स्थान परिवर्तन गर्न खोजिएपछि सरकारको ध्यानाकर्षण गराएको जनाए । ‘पुरानै नापजाँच अनुसार राजमार्ग निर्माण गर्नुपर्ने हाम्रो माग छ । लगाम–धनरास–धामिसैन–बेनीघाट सडक सिमाङ्गन भइसकेको छ । अहिले परिवर्तन गर्न खोजिएकाले विरोध गर्नुपरेको हो’ उनले भने ।

यसअघि नै रुट सुनिश्चित गरिएको सडक अन्यत्र लैजाने कोशिस गरिएकाले सरकारको ध्यानाकर्षण गर्नुपरेको चौकुने गाउँपालिका–५ का हरिप्रसाद अधिकारीले बताए । राजमार्गले बस्तीलाई छोएको तथा आन्तरिक सडक सञ्चालनमा आइसकेको अवस्थामा स्थान परिवर्तन गर्न खोजिएको उनको आरोप छ । लामो दुरी भएको बहानामा अन्यन्त्रबाट सडक विस्तार गर्न लागेको स्थानीयको भनाइ छ । सर्वे गरिएको भन्दा अन्यत्रबाट सडक लैजादा आफूहरूलाई मर्का पर्ने भन्दै मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतलाई समेत लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएको अधिकारीले बताए ।

पश्चिम सुर्खेतका बासिन्दाहरूले राखेको मागको सम्बोधनका लागि पहल गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आश्वासन दिएका छन् । पहिले सर्वे भइसकेको ट्रयाक परिवर्तन गर्न नमिल्ने भएकाले पूर्ववत रूपमा काम हुने वातावरण मिलाउने आचार्यको भनाइ छ । उनले भने, ‘स्थानीयले बुझाएको ध्यानाकर्षण पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमवार नै पठाएको छ । नागरिकले राखेका मागप्रति जिल्ला प्रशासन गम्भिर बनेको छ ।’

सोमवार नै सरोकारवालाहरूले प्रतिनिधि सभा सदस्य हृदयराम थानीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । सांसद थानीले कुनैपनि हालतमा राजमार्गको ट्रयाक परिवर्तन नहुने जनाएका छन् । केही दिनअघि मात्र आफूले स्थलगत अनुगमन गरेर यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको उनले जनाए । ‘यसअघि नै नापजाँच भएको स्थानबाट राजमार्ग अघि बढ्छ । नागरिकले पिर लिनु पर्दैन’ उनले भने ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले ट्रयाक परिवर्तन नगर्न मदन भण्डारी राजमार्ग आयोजनाको कार्यालयलाई समेत अवगत गराइएको जनाए । सोमवार निर्देशनालयको कार्यालयमा पुगेर मौखिक ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले भने राजमार्गको ट्रयाक परिवर्तबारे कुनै जानकारी नभएको जनाएको छ । कार्यालयका सूचना अधिकारी रामसागर हरिजनले छलफलको रूपमा ट्रयाक परिवर्तनको विषय चर्चामा आएको बताए । सोमवार मात्र पश्चिमका स्थानीयले ध्यानाकर्षण पत्र बुझाएको र सो पत्र मदन भण्डारी राजमार्ग निर्देशनालय पठाइएको हरिजनले बताए ।

राजमार्गअन्तर्गत हाल पुर्वी सुर्खेतको बोटेचौरदेखि धुलियाविट खण्डमा तीव्र रूपमा काम भइरहेको छ । उक्त खण्डमा ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पश्चिम सुर्खेतको बड्डिचौर खम्बागाडे, विद्यापुर बल्दे खण्डमा पनि काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रकाशित मितिः   २० चैत्र २०८०, मंगलवार ११:२५