कर्णालीमा एमालेको सरकार

सुर्खेत:  कर्णाली प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार नेकपा (एमाले) को नेतृत्वमा सरकार गठन हुने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न माओवादीको प्रदेश नेतृत्वलाई निर्देशन दिइसकेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलवार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शर्माले मंगलवार विश्वासको मत लिने तयारी गरेका थिए ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा (माओवादी केन्द्र) का प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए । ‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’ उनले भने, ‘निर्णय मान्नै पर्ने हुन्छ ।’

नेपाली कांग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले चौथो पटक विश्वासको मत लिने तयारी गरेका थिए । मंगलवार दिउँसो ३ बजे विश्वासको मत लिनका लागि समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जनाए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले चौथोपटक विश्वासको मत लिन लागेका उनले जनाए ।

शर्माले गत वर्ष वैशाख १५ गते तेस्रोपटक विश्वासको मत लिएका थिए । २०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । पार्टी अध्यक्षबाटै निर्देशन आएकाले मंगलवार प्रदेशसभाको बैठकअघि नै मुख्यमन्त्री शर्माले राजीनामा दिनसक्ने जनाइएको छ ।

प्रकाशित मितिः   २० चैत्र २०८०, मंगलवार ११:२७