बर्सेनि बढ्दै क्यान्सरका बिरामी

सुर्खेत: सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०÷०८१ मा सुर्खेत जिल्लामा एक सय दश जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहूलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहूलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

सहुलियतका लागि यो वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख बजेट पठाएको छ । उक्त रकम वितरण भइसकेकाले थप रकम माग गरिएको कार्यालयका सूचना अधिकारी बुढाले बताए । उनका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयसँग थप दश लाख बजेट माग गरिएको छ । क्यान्सरका बिरामीको संख्या धेरै भएकाले बजेट अपुग भएको जनाइएको छ ।

यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ । यो वर्ष एक सय ३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । यो वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट एक सय ३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिइएका छन् । जिल्ला–जिल्ला अनुसार फरक–फरक रकम दिइएको निर्देशनालयले जनाएको छ । दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीले ३० हजारका दरले यातायात सहुलियत पाएका छन् ।

सरकारले क्यान्सरको उपचारका लागि आर्थिक सहुलियत उपलब्ध गराउने गरेको छ । उपचारमा सहुलियत पाउन थालेपछि बिरामीहरू पनि खुल्न थालेका छन् भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले क्यान्सरका बिरामी बढेको जनाए । यो वर्ष वीरेन्द्रनगरबाट एक सय ३६ जनाले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । उनका अनुसार सिफारिसका लागि आएका बिरामीहरूमा फोक्सो, स्तन, पाठेघरको मुख, डिम्बासयलगायतमा क्यान्सर भएकाहरू रहेका छन् ।

लेकवेशी नगरपालिकाबाट यो वर्ष ३५ जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । गत वर्ष ३० जनाले सिफारिस लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश गिरीले बताए । भेरीगंगा नगरपालिकामा पनि नयाँ क्यान्सरका बिरामी भेटिएका छन् । नगरपालिकाबाट २२ जना क्यान्सरका बिरामीले सहुलियत उपचारका लागि सिफारिस लिएका छन् । नगरापालिकाले छुट्टै कार्यविधि निर्माण गरी पालिकाका क्यान्सर पीडितलाई मासिक दुई हजारका दरले उपचार सहुलियत समेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०७९/०८० बाट पालिकाले नौ प्ररकारका दिर्घ रोगीलाई सहुलियत दिनेगरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर देवकोटाले बताए । उनका अनुसार हालसम्म ७२ जना क्यान्सरका बिरामीले सेवा लिइरहेका छन् ।

यस्तै, गुर्भाकोट नगरपालिकामा १७ जना क्यान्सरका बिरामी फेला परेका छन् । उनीहरूले उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएका हुन् । नगर स्वास्थ्य शाखा प्रमुख जीवन लामिछानेले पछिल्लो समय सर्नेभन्दा नसर्ने रोग धेरै फैलिरहेको बताए । उनका अनुसार नसर्ने रोगमा सबैभन्दा बढी क्यान्सरका बिरामी रहेका छन् । सिम्ता गाउँपालिकाबाट यो वर्ष ११ जना क्यान्सरका बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् । बर्सेनि क्यान्सरका बिरामी थपिँदै गएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले बताए ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाबाट ११ जना क्यान्सरका बिरामीले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । उपचारमा सहुलियत दिन थालेपछि बिरामीको अभिलेखिकरण हुन थालेको स्वास्थ्य शाखा प्रमुख महेन्द्रबहादुर खत्रीले बताए । पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकामा यो वर्ष ११ जना क्यान्सरका बिरामी फेला परेका छन् । पालिकाबाट उपचारका लागि ११ जनाले सिफारिस लिएको स्वास्थ्य शाखा प्रमुख गंगादेव गिरीले बताए । यसैगरी चौकुने गाउँपालिकामा तीन जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । जसमध्ये दुई जना पुरुष र एक महिला रहेको स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर जैसुरीले बताए ।

कर्णालीमा क्यान्सर रोग बढ्दो

कर्णालीमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा दैनिक तीन÷चार जनामा क्यान्सर रोग देखा पर्ने गरेको छ । दैनिक चेकजाँचका क्रममा तीन/चार जना क्यान्सर रोगका बिरामी फेला पर्ने गरेको प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले जानकारी दिए । खानपानकै कारण क्यान्सर रोग बढिरहेको उनको भनाइ छ ।

विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर रोग धेरै फैलिने गरेको छ । ‘यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन्,’ पौडेलले भने, ‘होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन ।’ उनले अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने उल्लेख गरे ।

६० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको र ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको डा. पौडेलले जानकारी दिए । ६० वर्षभन्दा माथिकामा क्यान्सर रोग देखिने गरेको छ । यसबाहेक सुर्तीजन्य, मादक पदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता कारणले पनि रोग देखिने गरेको छ ।

प्रकाशित मितिः   १६ चैत्र २०८०, शुक्रबार ०५:०५