स्वास्थ्य सेवामा पहुँच
कर्णाली प्रदेश सरकारले तीन वर्षअघि स्वास्थ्य रणनीति बनायो । २२ चैत २०७७ मा तत्कालिन सामाजिक विकासमन्त्री दल रावलले प्रदेशको स्वास्थ्य रणनीति घोषणा गरेका थिए । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई समेट्न उक्त रणनीति बनाइएको थियो । जसमा २०७७ देखि २०८२ सम्म कार्यान्वयन गर्ने योजना, कार्यक्रम र रणनीति समावेश गरिएको थियो । तर रणनीति कार्यान्वयनको अवस्था भने फितलो देखिएको छ ।
नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था गरेको छ । सोही नीति बमोजिम प्रदेश सरकारले रणनीति योजना तयार गरेको हो । यद्यपि, पछिल्लो तथ्यांक हेर्दा कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्न सकेको छैन । विभिन्न तथ्यांकले अहिले पनि कर्णालीका तीन चौथाई नागरिक स्वास्थ्यको आधारभूत पहुँचबाटै बाहिर रहेको देखाएको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समूहमा स्वास्थ्य सेवाको पहुँच र उपभोगमा अभिवृद्धि गर्ने प्रदेश सरकारको रणनीतिक लक्ष्य थियो । अहिले लक्ष्य बमोजिम काम हुन सकेको छैन । २०८२ सालसम्म शतप्रतिशत नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्नेगरी लक्ष्य राखिएको भएपनि लक्ष्य अनुरूप काम नै हुन सकेको छैन । भौगोलिक विकटता र आर्थिक अभावका कारण नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा छैनन् । प्रदेश योजना आयोगको मध्यकालीन खर्च संरचना पुस्तकमा ५७ प्रतिशत नागरिक मात्र आधारभूत स्वास्थ्य सेवाको पहुँचमा रहेको उल्लेख गरिएको छ । आयोगका प्रशासकीय अधिकृत वुद्धिबहादुर खत्रीले सामाजिक विकास मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट लिएको तथ्यांकका आधारमा ५७ प्रतिशत नागरिक मात्र सामान्य स्वास्थ्यको पहुँचमा रहेको पाइएको जनाए । आयोगको तथ्यांक अनुसार ४३ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् । प्रदेश सरकारले निर्माण गरेको स्वास्थ्य रणनीतिअनुसार कार्यक्रम कार्यान्वयन हुन नसकेको देखिन्छ ।
केही वर्षअघिको एक सर्वेक्षणअनुसार कर्णालीका ७६ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको भेटिन्छ । २४ प्रतिशत घरधुरी मात्र नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेको पाइएको हो । कर्णाली प्रदेशमा २४ प्रतिशत घरधुरी मात्र ३० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेको देखिएको छ । यसैगरी ४८ प्रतिशत घरधुरीहरू ३० देखि ६० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा छन् भने २९ प्रतिशत घरधुरीहरू ६० मिनेटभन्दा बढीको दुरीमा सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेका छन् । यसरी हेर्दा अझैपनि तीन चौथाइ नागरिकहरू ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् भने एक चौथाइ नागरिकहरू मात्र ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचमा छन् ।
प्रकाशित मितिः १६ चैत्र २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।