उपकुलपतिका लागि ११ जनाको दरखास्त

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाको दरखास्त परेको छ । उपकुलपति छनोट समितिका अनुसार विश्वविद्यालयका पूर्वउपकुलपतिसहित आवेदन दिएका छन् ।
अहिले निमित्त उपकुलपति रहेका केशरसिंह राना, पूर्वउपकुलपति नन्दबहादुर सिंहसहित सीपी रिजाल, कवि पोखरेल, शोभाकर पौडेल, शोभाकर गौतम, यमबहादुर कार्की, दीपेन्द्र खड्कालगायतले दरखास्त दिएका छन् ।

प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिको नियुक्त हुन सकेको छैन । गत फागुनमा उनको कार्यकाल सकिएको हो । त्यसपछि विश्वविद्यालयको जिम्मेवारी अहिले निमित्त उपकुलपति रानाले सम्हालिरहेका छन् ।

सिंहको कार्यकाल सकिनुअघि नै नयाँ उपकुलपति नियुक्त प्रक्रिया सुरु गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । उक्त अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि नौ जनाले आवेदन दिएका छन् । तर मापदण्डमाथि विवाद भएपछि स्थगित गरिएको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

स्थगित प्रक्रियालाई पुनः अगाडि बढाइएको हो । अहिले ११ जनाको दरखास्त परेको र उनीहरूमध्येबाटै उपकुलपति चयन हुने जनाइएको छ । स्रोतकाअनुसार निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेका राना र पूर्वउपकुलपति सिंह नै नयाँ उपकुलपतिका लागि मुख्य दाबेदार हुन् । राना नेकपा (माओवादी केन्द्र) र सिंह नेकपा (एमाले) निकट मानिन्छन् । सत्तारुढ दलहरूबीचको भागबण्डा अनुसार को उपकुलपति हुने भन्ने टुँगो लाग्ने जनाइएको छ ।

प्रकाशित मितिः   १७ चैत्र २०८०, शनिबार ०५:०१