उद्यम गरेर आत्मनिर्भर

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ पिपिरा चोककी ४७ वर्षीया बसन्ती अधिकारीले व्यावसायिक रूपमा च्याउ खेती थालेको एक दशकभन्दा बढी भयो । सामान्य लेखपढ मात्रै गरेकी उनी आफू एक्लै च्याउखेतीमा रमाएकी छैनन्, उद्योगमार्फत् अरुलाई रोजगारीसमेत दिएकी छिन् । अधिकारीको उद्योगमा अहिले पाँच जनाले रोजगारी पाएका छन् । व्यवसायबाट राम्रै आम्दानी गरेकी छिन् । वार्षिक आम्दानी करिब १८ लाख हुने र त्यसबाट पाँच लाख जति बचत गर्ने गरेको उनले बताइन् ।

२०६८ सालमा ४० हजार लगानीबाट व्यवसाय सुरु गरेकी हुन् । अहिलेसम्म ३५ लाख लगानी पुगेको छ । त्यतिबेला घर भाडामा लिएर च्याउ लगाउन सुरुआत गरेकी थिइन् । अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रूपमा पनि परिचित बनेकी छन् । उनले भनिन्, ‘च्याउ खेतीबाट आर्थिक रूपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु । अहिले राम्रै कमाइ हुन थालेपछि पहिलेभन्दा काम गर्ने जाँगर पनि बढेर आएको छ । पाँच जनालाई मासिक रोजगार दिएको छु ।’

च्याउको बिउ र च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर, एउटा मोटरसाइकल र अन्य केही सम्पत्ति जोड्न सफल भएको उनको भनाइ छ । च्याउखेतीकै आम्दानीबाट चार छोरी र एउटा छोराले उच्च शिक्षासमेत हासिल गरिसकेको अधिकारीले बताइन् । एक सफल उद्यमी महिलाको रूपमा स्थापित भएकी उनले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरिएको च्याउको सुकुटी सुर्खेतका अन्य पालिका तथा दैलेख र सल्यान जिल्लासम्म बिक्री गर्ने गरेकि छन् । उद्योगबाट उत्पादित च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको छ ।

आफूले उत्पादन गरेका च्याउ, च्याउका परिकारदेखि च्याउको बिउसमेत बिक्री गर्ने गरिएको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले म निकै खुसी छु । च्याउका परिकारहरू खरिद गर्ने मानिसको संख्या निकै बढेकाले काम गर्ने जाँगर चलेको छ । अबको चाहना आफ्ना उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने भन्ने छ ।’ उनले ताजा च्याउ प्रतिकेजी तीन सय, च्याउको सुकुटी प्रतिकेजी नौ सय र अचार प्रतिकेजी नौ सयदेखि १२ सयसम्ममा बिक्री गर्दै आएको जनाइन् ।

करिब ४० हजारबाट व्यवसाय थालेको बताउने अधिकारीले हालसम्म च्याउखेतीबाटै दुई करोड बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री पनि जोडेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ मा कृषि विकास निर्देशनालयबाट च्याउको बिउ उत्पादन गर्न ल्याव स्थापनाका लागि चार वटा मेसिन उपलब्ध भएको उनले जनाइन् । सरकारी अनुदानले व्यवसाय गर्न सहज भएको उनको भनाइ छ ।

पाँच सन्तानकी आमा, सामान्य लेखपढ बसन्तीलाई उनको श्रीमान्को राम्रो सहयोग छ । उनले जिल्लास्तरका धेरै पुरस्कारसमेत प्राप्त गरिसकेकी छिन् । गत वर्षपनि उनलाई उद्योग तथा उपभोक्ता हित संरक्षण सुर्खेतले उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरेको थियो । च्याउ खेती सुर्खेत जिल्लाका लागि उचित रहेको उनको अनुभव छ । धेरै परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउको खेती उचित रहेको उनले जनाइन् । ग्लोबल च्याउ उद्योग तथा कृषि फर्म खोलेर च्याउखेतीको सुरुआत गरेकि अधिकारीले अहिले तरकारी खेति पनि सुरु गरेकी छिन् । एक लाखको लगानीमा तरकारी खेती सुरु गरिएको उनको भनाइ छ । उनको बारीमा बेमौसमी तरकारी लटरम्म फलेको छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका–३ कि शोभा शाहीले विगत आठ वर्षदेखि च्याउखेती गर्दै आएकी छन् । पर्याप्त आम्दानी गर्न सकिने भएपछि शाही च्याउ खेतीतर्फ आकर्षित भएकी हुन् । पछिल्लो समय उत्पादन भएको च्याउ सहजै स्थानीय बजारमै बिक्री हुन थालेको छ । शाहीले २०७२ सालमा शोभा कृषि फर्म दर्ता गरेर व्यवसाय सुरु गरिन् । चार लाख रूपैयाँको लगानीमा स्थापना गरिएको व्यवसायमा लगानी बढाएर नौ लाख पू¥याइएको उनले बताइन् । ‘च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गर्छौं । च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,’ उनले भनिन् ।

बजारमा च्याउको माग बढ्दै गएको भन्दै शाहीले उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने सुनाइन् । उनको च्याउखेतिबाट मासिक ३० हजार आम्दानी हुन्छ । आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेकी छिन् । च्याउको बजार राम्रो देखेपछि शाही च्याउ खेतीतर्फ आकर्षित भएकी हुन् । उनले उत्पादन गरेको च्याउ सुर्खेत बाहेक सल्यान, दैलेख, र नेपालगञ्जमा समेत बिक्री हँुदै आएको छ ।

 

 

प्रकाशित मितिः   १७ चैत्र २०८०, शनिबार ०५:०५