विद्युत विस्तार योजना

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार योजना लामो समयदेखि अवरुद्ध छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद देखिएको हो । विद्युत लाइन विस्तार गर्दा बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । उचित मुआब्जा दिएर विवाद समाधान गर्न लागिएको आयोजनाले जनाएको छ । तर समाधान भइसकेको छैन ।

जग्गा विवाद कायमै रहँदा आयोजना क्षेत्रभित्रका रुख कटानका लागि छपान कार्य सकिएको छ । विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार दुई सय ३६ रुखमा छपान कार्य सकिएको हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान हुने भएको छ । बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखहरूमा छपान गरिएको छ । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान कार्य सकिएको हो । सरकारले रुख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रुख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको छ । अब कटानको फाइल प्रमाणित भएर आउन साथ रुख काट्न सुरु गरिने छ । विवरण प्रमाणित भए अबको केही दिनमा रुख कटान सुरु हुन्छ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । ६ महिना म्याद थप गरेर आयोजनाको काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै ३० प्रतिशत काम बाँकी नै रहेकाले म्याद थप गरेर काम अघि बढाउन लागिएको हो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । सुरुवातदेखि नै आयोजनाको काममा ढिलासुस्ती हुँदै आएको छ । त्यसमाथि नागरिकतहबाट सिर्जना भएका विवादले गति थप सुस्त बनाएको छ । यस्ता विवादहरू जतिसक्दो छिटो समाधान गरेर आयोजना निर्माणलाई तीव्रता दिन जरुरी छ ।

प्रकाशित मितिः   १४ चैत्र २०८०, बुधबार ०५:०३