पर्यटन प्रवद्र्धन

दैलेखको नौमुले गाउँपालिका–३ मा ६१ फिट अग्लो द्वारी झरना छ । प्राकृतिकरूपमा आकर्षक र पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको झरना उचित संरक्षण, व्यवस्थापन र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसक्ने झरना संरक्षणमा कसैले चासो दिएका छैनन् । जसले गर्दा वर्षाैदेखि गुमनाम छ । सरकारको प्राथमिकतामा नपर्दा झरनाको संरक्षण हुन नसकेको हो । ५० वर्ष पहिले नै झरनाको प्राविधिक नापजाँच गरिएको थियो । २०३० सालमा नापजाँच गर्दा ६१ फिट अग्लो रहेको पत्ता लगाइयो । तर त्यसपछि संरक्षणसहित पूर्वाधार विकासमा चासो दिएको देखिँदैन ।

संरक्षणका साथसाथै झरनाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सामान्य ज्ञानका पुस्तकमा समेत द्वारी झरनाबारे सामाग्री प्रकाशित भएको झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । यस झरनाको सरकारी तवरबाटै पूर्वाधारको विकास हुन सकेको छैन । भौगोलिक रूपमा विकट, झरनासम्म पुग्ने सडक निर्माण नहुँदा झरना हेर्न जाने पर्यटकहरू न्यून छन् । दैलेख सदरमुकामबाट १८ किलोमिटर मोटर यात्रासहित करिब चार घण्टा पैदल यात्रा गरेपछि मात्र द्वारी झरना हेर्न पाइन्छ । लामो यात्रा हिँड्नूपर्ने भएकाले त्यहाँ पुग्ने पर्यटकहरू ज्यादै न्यून छन् । जताततै हरियाली, झरनासँगै रहेको चमेरे गुफा र नौमुले यहाँका प्रकृतिक रमणीय स्थान हुन् । यद्यपि, गाउँपालिकाले द्वारी झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । संघ र प्रदेश सरकारसँग आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गरिएको छ । संघीय सरकारको आर्थिक सहयोगमा पाँच सय मिटर पैदल मार्ग निर्माण गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट विनियोजन गरेको थियो । संघीय सरकारको १५ लाख बजेटमा पैदल मार्ग निर्माण गरियो । त्यसयता अन्य पूर्वाधार निर्माणका काम भएका छैनन् । गाउँपालिकाले यो वर्ष पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्न बजेट माग गरेको छ ।

त्यसो त नौमुले गाउँपालिकामा मात्र साना–ठूला गरी एक दर्जन झरना रहेका छन् । यो वर्ष पनि नयाँ झरना फेला परेको छ । गाउँपालिकाको वडा नं. २ मा ‘रामी झरना’ फेला परेको जनाइएको छ । पालिकामा रहेका झरना मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । पर्यटन प्रवद्र्धनले आर्थिक समृद्धिमा समेत सघाउ पु¥याउन सक्दछ । तर कर्णाली प्रदेशमा भएका यस्ता थुप्रै प्राकृतिक पर्यटकीय स्थलहरू भने बेवास्तामा पर्दै आएका छन् । स्थानीय र प्रदेश सरकारले समेत पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   ४ चैत्र २०८०, आईतवार १५:३६