फाइनलमा कर्णालीको कमजोर प्रदर्शन

सुर्खेत: त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिवार भएको खेलमा आर्मी नौ विकेटले विजयी बनेको हो ।

जीतका लागि एक सय ११ रनको लक्ष्य पाएको आर्मीले ४६ बल अगावै मात्र एक विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । आर्मीका लागि प्लेअर अफ द म्याच घोषित तीर्थराज दासले अर्धशतकीय पाली खेले । उनले ३३ बलमा पाँच चौका र दुई छक्का हिर्काए । त्यस्तै, ओपनर इमरान शेख ३८ रन बनाएर नटआउट रहे । विकेटकिपर सन्तोष कार्कीले २१ रन बनाए । कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा अलआउट हुँदै एक सय १० रन मात्र बनाउन सक्यो । विपिन रवालले सर्वाधिक २७ रन बनाउँदा ओपनरद्वय रवीन्द्र शाही र मनिष थापाले समान २१–२१ रन बनाए । आर्मीका तीर्थराज दास, बासिर अहमद, शाहब आलम र सुमित श्रेष्ठले दुई–दुई विकेट लिए भने पवन कार्कीले एक विकेट लिए । फाइनलमा व्याटिङ र बलिङ दुवैमा कर्णालीको प्रदर्शन कमजोर रह्यो । जसका कारण राष्ट्रियस्तरको दोस्रो उपाधि जित्नबाट वञ्चित हुन पुग्यो ।

प्रकाशित मितिः   ४ चैत्र २०८०, आईतवार १५:३५